काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा आज काभ्रे र रामेछाप जिल्लाको विकास निर्माण कार्यक्रममा सरिक हुनुहुने भएको छ ।
उहाँ बिहान काभ्रेको तेमाल गाउँपालिकाको नवनिर्मित भवनको समुद्घाटन गर्न तेमाल जाने कार्यक्रम छ ।
तामाड.राजाको दरबार रहेको ऐतिहासिक स्थल मानिने तेमाल गाउँपालिकालाई धार्मिक र पर्यटकीय स्थल बनाउन त्यहाँ स्वयंभूनाथ,बौद्धनाथ र नमोबुद्ध चैत्य र विहारहरु पनि बनाइएको छ । त्यसको पनि अवलोकन गर्ने कार्यक्रम रहेको आयोजकहरुले बताएका छन् ।
आजै प्रधानमन्त्री देउवा न्यूखिम्ती सबस्टेशनको समुद्घाटन गर्न रामेछाप जानुहुने भएको छ ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको देविटारमा निर्मित ‘न्यु खिम्ती सबस्टेसन’ आज (शनिबार) उद्घाटन गरिँदै छ।
ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ।
सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौं जोडिएको छ। सबस्टेसनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। सो सबस्टेसनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ।
प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेसन सञ्चालनमा छन्।
न्यु खिम्ती सबस्टेसनका इलेक्ट्रिकल इन्जिनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटन कार्यक्रमको तयारी पूरा भएको छ। वि. सं २०७५ देखि बनाउन थालिएको सो सबस्टेसन गत असारमा निर्माण पूरा भएको हो।
सुरुवाती लागत १ अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायत कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ।
नयाँ खिम्ती सबस्टेसनमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली जोडिएको छ।
यस्तै, ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ।
यस्तै गर्ज्याङ हाइड्रोपावर, खिम्ती२ को बिजुलीसमेत सोही सबस्टेसनमा जोडिने छ। हालको क्षमताअनुसार सो सबस्टेसनमा कूल ९ सय मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिनुभएको छ।
रामेछाप, दोलखालगायत जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेसन प्राधिकरणको भाषामा हब सबस्टेसनका रूपमा विकास हुनेछ।
गत साउनको अन्तिम साता सो सबस्टेसन चार्ज गरिएको थियो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउन महत्त्वपूर्ण मानिएको सो सबस्टेसनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।
माथिल्लो तामाकोसीको झण्डै १ अर्ब युनिट बिजुली सोही सबस्टेसन भएर प्रवाह भइसकेको छ।
सबस्टेसनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन्। जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ।
सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यु खिम्ती सबस्टेसनका कर्मचारीको भनाइ छ।
केही दिनअघि मात्रै ऊर्जामन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा १२२/३३ केभी सबस्टेसनको र चैत ३ गते न्यु बुटवल–बर्दघाट २२०/१३२ केभी सबस्टेसनको उद्घाटन गर्नुभएको थियो।
यसबाट वर्तमान सरकारले ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान र चासो दिएको स्पष्ट हुन जाने ऊर्जा मन्त्रालयको भनाइ छ।


















