Prakash Adhikari March 24, 2022

काठमाडौं, १० चैत्र । घरेलु मैदानमा यही चैत्र ११ (मार्च २५ ) देखि पपुवा न्यु गिनीबिरुद्ध खेलिने २ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा त्यसपछि चैत्र १४ (२८ मार्च)देखि पपुवा न्यु गिनी र मलेसियासंग खेलिने त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय श्रृखलामा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई बाहिर पारिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको छुट्टाछुट्टै टिममा दुवै जना कुनै पनि समूहमा अटाएका छैनन् ।

दुवै खेलाडीले युएई भ्रमणमा खराब प्रदर्शन गरेको क्यानका पदाधिकारीहरुको आरोप छ । घोषित एकदिवसीय टिममा फास्ट बलिंग अलराउण्डर करन केसीलाई पनि समाबेश गरिएको छैन। करनले टि २० टिममा भने स्थान बनाएका छन्।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई पनि एकदिवसीय टिममा बाहिर राखिएको छ भने टि २० टिममा स्थान बनाएका छन्।

क्यानले घोषणा गरेको टिममा यु १९ राष्ट्रिय टिमका कप्तान देव खनाललाई पहिलो पटक एकदिवसीय टिममा मौका दिईएको छ। उनले हालसम्मका खेलमा राम्रै प्रदर्शन गरिरहेका छन् । टिममा विकेटकिपर ब्याट्सम्यान अनिल शाहले समेत पुनरागमन गरेका छन्।

एभरेस्ट प्रिमियर लिग तथा प्रधानमन्त्री कप टि २० प्रतियोगितामा राम्रो प्रदर्शन गरेका विकेटकिपर ब्याट्सम्यान दीलिप नाथलाई टि २० टिममा स्थान दिईएको छ। २०१८ पछि दीलिपले नेपाली राष्ट्रिय टिमको लागि खेलेका छैनन् भने टि २० र एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छैनन्।

प्रधानमन्त्री कप टि२० मा मधेश प्रदेशबाट विष्फोटक ब्याटिंग गरेका आदिल अन्सारीले पनि टि २० टिममा छानिएका छन् । यु १९ राष्ट्रिय टिममा परिसकेका दायाँ हाते ब्याट्सम्यान आदिल पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन्।

घोषित टि २० टिममा आक्रामक ब्याट्सम्यान लोकेश बम, विवेक यादव, भिम शार्की र कुशल मल्ललाई पनि निरन्तरता दिईएको छ। विवेक यादव युएई टुरमा भएता पनि अन्तिम एघारमा परेनन् ।लोकेश बमले ओमानमा टि २० विश्वकप छनोट खेलमा परे पनि उत्कृष्ट प्रदर्शन गर्न असफल रहे । कुशल पनि पछिल्लो समय लयमा छैनन् । भिम सार्कीले युएई भ्रमणको अन्तिम खेलमा पपुवा न्यु गिनी बिरुद्ध डेब्यु गरेका थिए।

आदिल अन्सारी, लोकेश बम, देव खनाल र गुल्सन झाले दुई साता अघि भारतको बैंगलोरमा विशेष प्रशिक्षणको अवसर पनि पाएका छन् । उनीहरु प्रतियोगितामा आइपुग्ने बताइएको छ ।

एकदिवसीय टिममा फास्ट बलरको रुपमा गुल्सन झाले मौका पाएका छन्। युएई भ्रमणमा राम्रो प्रदर्शन गरेका सोमपाल कामीसहित विक्रम सोब र कमल सिंह ऐरी फास्ट बलरको रुपमा एकदिवसीय टिममा छन्। कमल र सोमपाल टि २० टिममा पनि छन्। देब्रे हाते स्पिनरको रुपमा सुशन भारी एकदिवसीय टिममा छन् भने सागर ढकाल दुवै फर्म्याटमा छन्। अलराउण्डर पवन सर्राफले एकदिवसीय टिममा मात्र स्थान बनाएका छन्।

एकदिवसीय टिम ः सन्दीप लामिछाने (कप्तान) , आरीफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, अनिल शाह , बिक्रम सोब, सुशन भारि, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र भिम सार्की

टि २० अन्तर्राष्ट्रिय टिम ः सन्दीप लामिछाने (कप्तान) , आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आसिफ शेख(विकेटकिपर) , करन केसी, अविनाश बोहरा, विवेक यादव, दीलिप नाथ (विकेटकिपर) , लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी

 

Share Now

Leave a comment.