Prakash Adhikari March 26, 2022

 

कीर्तिपुर(काठमाडौं), १२ चैत्र । पुपुवा न्युगिनीसंगको दोस्रो एक दिवसीय खेलको नतिजा आफ्नो अनुकूल बनाउने अवसर पनि नेपालले गुमाएको छ ।

नेपाल भ्रमणमा रहेको पपुवा न्युगिनीसंग शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको दोस्रो एकदिवसीय खेलमा नेपाली टिमलाई ३ विकेटले पराजित गर्दै श्रृखला पपुवा न्युगिनीले जितेको छ ।

यसअघि शुक्रबार सम्पन्न पहिलो एकदिवसीयमा पपुवा न्यु गिनी ६ रनले विजयी भएको थियो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २ सय ७९ रनको चुनौतिपूर्ण लक्ष्य पपुवा न्यु गिनीले ८ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा २ सय ८३ रन जोडेर हासिल गर्यो ।

पपुवा न्युगिनीको जितमा ओपनर लेगा सियकाले सर्वाधिक ९० रन बनाए । यस्तै रिले हेकुरेले अविजित ४८ तथा सेसे बाउले ३८ रनको योगदान दिए । खेलमा चाड सुपरले १६, हिरी हिरीले १३ र नर्मन भानुले ११ रन बताए ।

खेलमा नेपालका फास्ट बलर सोमपाल कामीले ओपनर टोनी उरालाई ९ तथा कप्तान असाद भालालाई गोल्डेन डक आउट पार्दै नेपाललाई सानदार सुरुवात दिलाए । त्यसपछि अर्का ओपनर लेगा सियकाले तेस्रो विकेटको लागि चार्ल्स आमिनीसँग ६९ रनको साझेदारी गर्दै पपुवा न्यु गिनस्को इनिंग्स सम्हाले ।

आमिनीलाई कप्तान सन्दीप लामिछानेले एल्बी डब्ल्यु धरापमा पार्दै साझेदारी तोडे ।

सियकाले पुनः सेसे बाउसँग चौथौं विकेटको लागि १ सय १० रनको साझेदारी गर्दै पपुवा न्यु गिनीको इनिंग्स उकासे । १ सय २ बलमा १२ चौका र १ छक्काको मद्धतमा ९० रन बनाएका सियकालाई पवन सर्राफले ३३औं ओभरमा बोल्ड आउट पारे । दोस्रो विकेट लिने क्रममा पवनले बाउलाई एल्बी डब्ल्यु धरापमा पार्दै नेपाललाई खेलमा फर्काए ।

एक समय २ सय ५४ रनको योगफलमा ७ विकेट गुमाएको पपुवा न्यु गिनीलाई अन्तिममा रिले हेकुरे र चाड सोपरले अविजित २९ रनको साझेदारी गर्दै जितसम्म डोर्याए । हेकुरेले ४५ बलमा ३ चौका र २ छक्काको मद्धतमा अविजित ४८ रन बनाए भने सोपरले १२ बलमा १६ रन बनाए ।

पपुवा न्युगिनीलाई रोक्ने क्रममा नेपालको बलिंगतर्फ सोमपाल कामीले सर्वाधिक ३ तथा अफ स्पिनर पवन सर्राफले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ । १ विकेट हात पारे ।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाउँदै पपुवा न्यु गिनीलाई सिरिज जितका लागि २ सय ७९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालको सुरुवात अत्यन्तै खराब रह्यो । ओपनरद्वय कुशल भुर्तेल रोयल डक तथा अनिल शाह १ रनमा आउट भए । त्यसपछि देव खनाल र दिपेन्द्र सिंह एरीले तेस्रो विकेटको लागि १ सय २९ रनको शतकीय साझेदारी गर्दै नेपालको इनिंग्स उकासे । ८६ बलमा ४ चौका र ३ छक्काको मद्धतमा ७२ रन बनाएका देवलाई चार्ल्स अमिनीले एल्बी डब्ल्यु धरापमा पारे ।

दिपेन्द्रसँग ५८ रनको साझेदारी गरेर रोहित पौडेल आउट भएपछि दिपेन्द्रले भिम सार्कीसँग ५५ रनको साझेदारी गर्दै नेपालको इनिंग्स अघि बढाए । रोहित पौडेल ३६ बलमा ३५ रन बनाएर चाड सोपरबाट बोल्ड भए ।

१ सय ४० बलमा ७ चौकाको मद्धतमा १ सय ५ रन बनाएका दिपेन्द्रसिंह ऐरी भानुवाको बलिंगमा सोपरबाट समातिए ।

दिपेन्द्रको विकेटपछि नेपालको ब्याटिंग क्रम धराशायी बन्न पुग्यो । फलस्वरूप नेपालले थप ४ रन जोड्दा ४ विकेटनै गुमायो । अन्तिममा सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले २७ रनको साझेदारी गर्दै नेपालको योगफल २ सय ७० पार गराए । अन्तिम ओभरमा सन्दीपले २ चौका प्रहार गर्दै कुल १६ रन जोडेका थिए ।

नेपाललाई रोक्ने क्रममा पपुवा न्यु गिनीक एलाई नाओले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, नोर्मान भानुवाले २ तथा चाड सोपर र चार्ल्स अमिनीले समान १। १ विकेट लिए ।

Share Now

Leave a comment.