Prakash Adhikari March 27, 2022

 

काठमाडौं, १३ चैत्र । सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका ४४ हजार रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लाने जनाएपछि त्यसबारे चासो व्यक्त भएको छ।

कतिपयलाई अब उपत्यकामा सबैका लागि कित्ताकाट खुल्न लागेको हो भए पनि अधिकारीहरूले चाहिँ त्यो सीमित व्यक्तिका लागि मात्र हुने बताएका छन्।

सरकारले कृषियोग्य भूमि खण्डीकरण रोक्ने भन्दै २०७४ सालदेखि देशैभरि जग्गाको कित्ताकाट रोकेको थियो।

पछि केही कम्पनीलाई कित्ताकाट गर्न दिने निर्णय हुँदा त्यो विवादित बनेको थियो।

सर्वोच्च अदालतले कानुन बनाएर कित्ताकाट खुला गर्न आदेश दिइसकेको भए पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन।

कित्ताकाट खुला नहुँदा घरजग्गाको अस्वाभाविक मूल्यवृद्धि भएको जानकारहरू बताउँछन्। यद्यपि विभिन्न उपायबाट कित्ताकाट गरेर खेतीयोग्य जमिन खण्डीकरण गर्ने कार्य नरोकिएको गुनासो गर्नेहरू धेरै छन्।

मन्त्रालयको प्रस्ताव
सहरी विकासमन्त्री अध्यक्ष रहने काठमाडौं उपत्यका भौतिक विकास समितिको बिहीवारको बैठकले ४४ हजार रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको अधिकारीहरूले बताएका छन्।

उक्त समितिका एक सदस्य एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले उक्त निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकले उक्त प्रस्तावलाई मन्त्रिपरिषद्‌मा पेस गर्ने भन्ने निर्णय गरेको छ।”

अधिकारीका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले विकास गर्ने तय भएको नयाँ नगर क्षेत्रको जग्गाको कित्ताकाट फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् पठाउने निर्णय भएको हो।

तर त्यसमा नयाँ नगर विकास योजना लागु भएका सबै क्षेत्र नसमेटिएको र केही स्थानमा मात्र कित्ताकाट फुकुवाको प्रस्ताव गरिएको उनीहरूको भनाइ छ।

ललितपुरको बाहिरी क्षेत्र

प्राधिकरणले उपत्यकाभित्र चार स्थानमा त्यस्ता नयाँ नगर विकासको योजना अघि बढाएको छ।

त्यस्ता योजनामा काठमाडौं ईशान, काठमाडौं आग्नेय, काठमाडौैं नैऋत्य र काठमाडौं उत्तर रहेका छन्।

तीमध्ये काठमाडौं ईशान योजनाअन्तर्गत कुल एक लाख रोपनी जग्गा कित्ताकाट रोक्का गरिएको थियो।

उक्त आयोजना क्षेत्रमा पर्ने ४४ हजार रोपनीलाई कित्ताकाट फुकुवाको प्रस्ताव अघि बढाइएको प्राधिकरणले जनाएको छ।

कहाँकहाँ फुकुवा हुनसक्छ ?

मन्त्रालयले अघि बढाएको प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएमा कागेश्वरी मनहरा, शङ्करापुर, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाका विभिन्न क्षेत्रमा रोकिएको कित्ताकाट खुला हुनेछ।

“यो सबैका लागि कित्ताकाट फुकुवा होइन, हाम्रो ईशान आयोजनाको एक लाख रोपनीमध्ये ४४ हजार रोपनीको मात्र कित्ताकाट खुला भएको हो”, प्राधिकरणका सूचना अधिकारी सौरब ढकालले भन्नुभयो।

“अब कित्ताकाट फुकुवा भएमा त्यस क्षेत्रका जग्गाधनीले कित्ताकाट गर्न पाउनुहुनेछ।”

तर त्यसका लागि जग्गाधनीले प्राधिकरणमा आएर आफ्नो जग्गा कित्ताकाट फुकुवा भएको हो भनी प्रमाणीकरण गराउनुपर्ने हुन्छ।

“अहिले प्रस्ताव नै पारित नभइसकेकाले कसरी त्यसको व्यवस्था मिलाउने भन्ने निर्णय भइसकेको छैन”, ढकालले भन्नुभयो।

सौरब ढकाल
यो सबैका लागि कित्ताकाट फुकुवा होइन, हाम्रो ईशान आयोजनाको एक लाख रोपनीमध्ये ४४ हजार रोपनीको मात्र कित्ताकाट खुला भएको हो
सौरब ढकाल
सूचना अधिकारी,

पहिलेको निर्णय
काठमाडौं उपत्यका भौतिक विकास समितिको २०७४ साल वैशाख २४ गते बसेको बैठकले उपत्यका भित्रका चार स्थानमा नयाँ नगर विकास गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार काठमाडौं ईशान, काठमाडौं आग्नेय, काठमाडौं नैऋत्य र काठमाडौं उत्तरमा जग्गा छुट्ट्याइएको थियो।

काठमाडौं ईशानका लागि १ लाख रोपनी र अन्य आयोजनाका लागि १० । १० हजार रोपनी जग्गा तोकिएको छ।

त्यस बेला ती स्थानका “चार किल्ला क्षेत्रभित्र जस्तोसुकै प्रकारको अचल सम्पत्ति प्राधिकरणको पूर्वस्वीकृतिबिना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने” निर्णय भएको थियो।

सोही निर्णयानुसार हालसम्म उक्त क्षेत्रमा जग्गाको कित्ताकाट रोकिएको हो।

उपत्यका

उपत्यका

प्राधिकरणले कसरी नयाँ नगर विकास गर्छ ?

प्राधिकरणले जग्गाको कित्ताकाट रोक्का राखेका क्षेत्रमा जग्गा एकीकरण गरी ूविभिन्न आय वर्गकाू व्यक्तिहरूका लागि आवश्यक घडेरी विकास गर्ने योजना अघि सारेको छ।

त्यस क्रममा कानुनको अधिनमा रही विभिन्न कित्ताहरूलाई एकीकरण गर्ने र भौतिक विकास गर्ने काम उसले गर्ने गर्छ।

त्यसरी भौतिक विकास गर्दा लागेको खर्च विकसित घडेरी विक्री गरेर असुल गर्ने तथा बाँकी विकसित घडेरीहरू साबिककै जग्गाधनी वा मोहीहरूलाई समानुपातिक आधारमा फिर्ता दिने व्यवस्था गर्ने उसले जनाएको छ।

त्यस्तो कार्यका लागि हाल ४४,००० रोपनी जग्गाको कित्ताकाट फुकुवा गरिरएको काठमाडौं ईशान आयोजनाको कुल लागत २ खर्ब ८६ अर्बभन्दा बढी हुने अनुमान गरिएको थियो।

प्राधिकरणले विकास गर्ने नगर क्षेत्रमा सडक, खुला र हरित क्षेत्रलगायतको व्यवस्था हुने बताइएको छ।

चवालीस हजार रोपनीको कित्ताकाट गर्न दिइए पनि बाँकी रहेको ५६,००० रोपनीमा काठमाडौं ईशान आयोजना सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

Share Now

Leave a comment.