कुपण्डोल(ललितपुर), १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गर्नुभयो ।
शनिवार साँझ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं विश्व सम्मेलनको समुद्घाटन सम्बोधनमा राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
“तपाईंहरुले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताए । उनले नेपाल सरकार सदैव एनआरएनको साथ र समर्थनमा रहने विश्वास पनि व्यक्त गर्नुभयो ।
उदघटन समारोहमा संघका पूर्वअध्यक्ष भवन भट्टले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको ‘भवन प्राइज’ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो।
एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको उद्घाटन समारोहमा संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने,संस्थापक रामप्रताप थापा, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतले विश्वभरका नेपालीलाई एकै सूत्रमा जोडेर मातृभूमिको विकासमा केन्द्रित गराउन संघ सफल भएको बताउनुभयो ।


















