कीर्तिपुर(काठमाडौं),१४ चैत्र । त्रिदेशीय टी २० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा आरम्भ भएको सोमबारको खेलमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निमन्त्रणा दिएको छ ।
यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल आरिफ शेख दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल टी२० टिममा पनि खेल्दैछन् ।
यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी २० मा अटाएका छन् ।
पहिलो पटक टी २० राष्ट्रिय टिममा समावेश भएका आदिल अन्सारी भने सोमबार नेपालको टिममा परेका छैनन् ।
एकदिवसीयमा शतक प्रहार गरेका रोहित पौडेल सोमबार बिहान मात्रै टी २० श्रृङ्खलाका लागि टिममा समावेश भएका थिए ।
रोहितले सन् २०१९ पछि पहिलो पटक नेपालका लागि टी २० खेल्दैछन् ।
उनले पछिल्लो पटक २०१९ डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदमा खेलेका थिए ।
यही चैत्र ११ र १२ गते कीर्तिपुरमा नै सम्पन्न एक दिवसीय खेलमा पपुवा न्युगिनीसंगका दुवै खेलमा विजय प्राप्त गर्न चुकेको नेपाल टी २० अन्तर्राष्ट्रिय सेरिज जितेर एकदिवसीय खेलमा भएको पराजयको क्षति पूर्ति गर्ने दाउमा रहेको छ ।
अहिले नवौं ओभरको अन्त्यमा नेपालले १ विकेटको क्षतिमा ८१ रन जोडेको छ। नेपालका ओपनर कुशल भूर्तेल २० रन बनाएको अवस्थामा रन आउटमा परेका हुन्।
खेलमा आशिफले अहिलेसम्म आशिफले ३२ र रोहितले १८ रन जोडेका छन्।


















