कीर्तिपुुर(काठमाडौं), १६ चैत्र । नेपालमा भैरहेको त्रिदेशीय टी २० क्रिकेट श्रृखला अन्तरगत आज भएको खेलमा नेपालले प्रतिस्पर्धी मलेशियालाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ३८ बल बाँकी रहदै १३.४ ओभरमै हासिल गरेको थियो ।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक ५७ रन बनाए । यो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको दोश्रो अर्धशतक हो भने व्यक्तिगत उच्च स्कोर हो।
खेलमा दीपेन्द्र सिंह ऐरीले २१, दीलिप नाथले अविजित १५ तथा रोहित पौडेलले १२ रन बनाए। आजको खेलमा ओपनर कुशल भूर्तेल १ रनमै आउट भए भने कुशल मल्लले जम्मा २ रन जोडे ।
नेपाललाई रोक्ने क्रममा मलेसियाका बलर पवनदिप सिंहले २ तथा मुहम्मद आमिर र सयद अजिजले १ ।१ विकेट लिए।
खेलमा टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेटको क्षतिमा १ सय १४ रन मात्र बनाउन सक्यो।
मलेशियाका लागि ओपनर जुबैदी जुल्किफलले सर्वाधिक ३२, एहमद फैजले २४, मुहम्मद आमिरले १६ तथा सयद अजिजले १४ , सर्विन मुनियाण्डी र अनिल हाफिजे ९।९,विजय उन्नीले ३ र पवनदीप सिंहले १ रन जोडे ।
मलेशियालाई रोक्ने क्रममा नेपालका करन केसी र कप्तान सन्दीप लामिछानेले समान २ ।२ विकेट तथा अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १ । १ विकेट लिए।
सिरिज अन्तर्गत नेपालले तेश्रो खेलमा बिहिबार पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गर्नेछ।
तेस्रो खेल जितेको खण्डमा नेपाल एक खेल बाँकी रहँदै फाइनल प्रवेश गर्नेछ।
पपुवा न्यु गिनीले नेपाल र मलेशिया दुवैसंग एक एक हार ब्यहोरिसकेको छ ।


















