Prakash Adhikari March 31, 2022

कीर्तिपुर(काठमाडौं), १७ चैत्र । नेपालमा भैरहेको त्रिदेशीय टी २० क्रिकेट प्रतियोगितामा पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै घरेलु टोली श्रृखलाको फाइनलमा प्रवेश गरेको छ ।

शृंखला अन्तर्गत तीन खेलमा विजयी भएको नेपाल एक खेल खेल्न बाँकी छर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । नेपालले मलेशियासंग अझै एक खेल खेल्न बाँकी छ । नेपालले यसअघि पपुवा न्यु गिनीलाई नै १५ रनले तथा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिले ब्याटिड. गर्दै २ सय ३ रन जोडेको थियो । २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्यु गिनी २ बल बाँकी रहँदै १ सय ६६ रनमा अल आउट भयो ।

पपुवा न्यु गिनीको ब्याटिंगतर्फ चार्ल्स अमिनीले ४७ बलमा ९ चौकाको मद्धतमा सर्वाधिक ६२ रन बनाए । यस्तै, टोनी उराले ४३, सेसे बाउले २५ तथा नोर्मान भानुवाले १७ रन जोडे ।त्यस्तै रिले हेकुरेले ६,चाड सुपरले २ तथा लेगा सयका र क्याप्टेन असद भालाले एक एक रन जोडेका थिए ।

पपुवा न्युगिनीलाई रोक्न नेपालका करण केसीले ५ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अविनास बोहोराले समान २ तथा कप्तान सन्दीप लामिछानेले १ । १ विकेट हात पारे । ५ विकेट लिने करन प्लेयर अफ द म्याच पनि घोषित भए ।

यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
नेपालको ब्याटिंगतर्फ दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै, रोहित पौडेलले ४१ तथा ओपनर आशिफ शेखले ३८ रनको योगदान दिए । खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोहम्मद आदिल आलमले ३१ रन जोडे भने कुशल भूर्तेलले १७,आरिफ शेखले २ र करन के.सी.ले एक रनको योगदान दिए ।

नेपाललाई रोक्न पपुवा न्यु गिनीको बलिंगतर्फ काबुवा मोरेले ३ रिले हेकुरेले २ तथा नोसैना पोकैना र नोर्मान भानुले समान १ ।१ विकेट लिए ।

यो खेलसंगै नेपालको टी २० अन्तर्राष्ट्रियको ५० औं खेल शानदार ढंगले विजय निकाल्न सफल भयो। नेपालले आजसम्म खेलेका टी २० को ५० वटा प्रतिस्पर्धामा २८ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजय ब्यहोरेको छ १ खेल नतिजाविहिन टुंगिएको छ ।

Image
करनको कीर्तिमान

कीर्तिपुरमा सम्पन्न भएको नेपालको ५० औं टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालका बलर करन के.सी.ले नयाँ कीर्तिमान कायम गरेका छन् ।उनले एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडीको रेकर्ड बनाएका छन भने एकै ओभरमा ह्याट्रिक लिने पनि । उनले २० औं ओभरको दोस्रो, तेस्रो र चौथौं बलमा पपुवा न्यु गिनीका तल्लो क्रमका ब्याटरको विकेट लिएका थिए ।

उनी टी ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट लिने दोस्रो नेपाली खेलाडी समेत बनेका छन् । पहिलो रेकर्ड कप्तान सन्दीप लामिछानेको नाममा छ ।उनले हालसम्म ३६ खेलमा सर्वाधिक ६८ विकेट लिएका छन् । करणको नाममा समान ३६ खेलमा ५४ विकेट छ ।

Share Now

Leave a comment.