Prakash Adhikari April 6, 2022

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २३ चैत्र(बीबीसी) । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने माग गर्नुभएको छ।

आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्‌म बोल्दै जेलेनस्कीले सो कुरा बताउनुभएको हो ।

यसैबीच रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउन

का साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताउनुभएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ।

युक्रेन

युरोपेली राजदूतहरूले बुधवार  पाँचौँ चरणका प्रतिबन्धहरूको  घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्तव र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन्।

सुरक्षा परिषद्‌मा जेलेन्स्कीको सम्बोधन

यसअघि भिडिओ लिङ्कबाट राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सम्बोधन गर्नुभएका जेलेनेस्की आफ्नो देशमा हमला गरेका फौजहरूले गरेका भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराउनुभएको थियो।

देशको उत्तरी भागबाट रुसी फौज फिर्ता भएपछि त्यसबारे जानकारी आएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले युक्रेनी भूभाग कब्जा गरेका फौजहरूले मनोरञ्जन लिनका लागि मात्र समेत मानिसहरूको हत्या गरेको र तिनीहरूलाई यताना दिएको जनाउनुभयो।

जेलेन्स्कीले एउटा ग्राफिक्स भिडिओ पनि प्रस्तुत गर्नुभएको थियो जसमा मृत युक्रेनीहरू देखाइएको थियो। तर बीबीसीले स्वतन्त्र रूपमा ती तस्बिरहरू पुष्टि गरेको छैन्।

 

जबाफदेहिताको माग गर्दै जेलेन्स्कीले मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट हटाउनुपर्ने माग समेत गर्नुभएको छ।

कसले के प्रतिक्रिया दिए

तर रुसले पुन आफूविरुद्धका आरोप अस्वीकार गरेको छ।

राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी र पश्चिमा सञ्चारमाध्यममा आएका विवरणमा एकरूपता नरहेको र त्यो नियोजित रहेको टिप्पणी गर्नुभयो।

रुस युक्रेन युद्ध

 

बुचामा फेला परेका शव रुसी फौजहरूले उक्त शहर छाड्दा त्यहाँ नरहेको उहाँले दोहोर्‍याउनुभयो। बीबीसीले भूउपग्रहबाट खिचिएका तस्बिरका आधारमा मस्कोको उक्त दाबीलाई गलत भनेको थियो।

न्यूयोर्कमा भएको राष्ट्रसङ्घीय बैठकमा रुसी कदमको पुनः निन्दा गरिएको छ।

संयुक्त राज्य अमेरिकाले रुसलाई राष्ट्रसङ्घको मानवअधिकार परिषद्‌बाट हटाइनुपर्ने माग फेरी राखेको छ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा टमस ग्रिनफिल्डले युक्रेनमा भएका अत्याचारका लागि रुसलाई एक्लाउन र जबाफदेही बनाउन लागिरहने प्रतिवद्धता जनाउनुभयो।

रुसी आक्रमणलाई निन्दा नगरेको चीनले गैरसैनिकहरूको मृत्यु ज्यादै दुस्खद भएको भन्दै कुनै पनि आरोप प्रमाणित तथ्यका आधारमा लगाइनुपर्ने टिप्पणी गरेको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा मानिसहरूको तीब्र विस्थापन उक्त युद्धले निम्त्याएको बताउनुभएको थियो।

बीबीसीसँग बोल्दै राष्ट्रसङ्घका लागि ब्रिटिस राजदूत बारबरा वुडवार्डले राष्ट्रसङ्घले रुसलाई जबाफदेही बनाउन प्रमाण सङ्कलन गरिरहेको र रुसी मिथ्या सूचनाको पर्दाफास गरिरहेको बताउनुभयो।

थप युद्ध अपराधका आरोप

युक्रेन रुस

 

रुसी फौजहरू फिर्ता भएका युक्रेनी क्षेत्रहरूबाट विध्वंस र सम्भावित युद्ध अपराधका आरोप सम्बन्धी थप विवरणहरू आइरहेका छन्।

किएभको उत्तरमा अवस्थित बोरोड्यान्का नगरका प्रहरीले बमले उडाइएका छतका भग्नावशेष मुनी सयौँ मानिसहरू फसेको हुनसक्ने बताउनुभयो।

पुरिएकाहरूलाई खनेर निकाल्ने प्रयास गरिरहेका मानिसहरूमाथि रुसी फौजले गोली चलाएको स्थानीयवासीले जनाएका छन्।

उक्त नगर पुगेका एक जना बीबीसी संवाददाता भन्नुहुन्छ ,”त्यहाँ भीषण गोलाबारी गरिएको थियो जसका कारण ठूलो विध्वशं भएको छ।”

Share Now

Leave a comment.