Prakash Adhikari April 6, 2022

 

कीर्तिपुर(काठमाडौं), २१ चैत्र । दीपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शनमा नेपालले टी२० त्रिदेशीय श्रृखलाको फाइनलमा पपुवा न्युगिनीलाई हराएको छ।

 

कीर्तिपुर क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले १ सय ६८ रन जोडेको थियो। नेपालको ब्याटिड.मा ऐरीले सर्वाधिक ५४ रन बनाए।

 

ऐरीले बलिङमा पनि चार विकेट लिएपछि प्रतिद्वन्द्वी टोली १६.१ ओभरमा १ सय १८ रनमा समेटियो र ५० रनले पराजित भयो।

 

नेपालले लीग चरणमा पपुवा न्युगिनी र मलेशियालाई दुई दुई पटक पराजित गरेको थियो।

 

 

त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृखला हुनुअघि काठमाडौंमा नै भएको एकदिवसीय शृङ्खलामा भने नेपाललाई दुवै खेलमा हराएर पपुवा न्युगिनीले शृङ्खला जितेको थियो।

 

ऐरीले सोमवार २१ रन पूरा गर्दा  उनी टी २० अन्तर्राष्ट्रियमा १,०००  रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरे ।

मध्यम लक्ष्य

फाइनल खेलमा नेपालको सुरुआत सोमवार पनि राम्रो हुन सकेन।

 

पहिलो ओभरमा १४ रन जोडेर ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत दिलाएका थिए।

 

यद्यपि ठूलो पारी खेल्ने मुड बनाएका उनी पाँचौँ ओभरमा आउट हुन पुगे। २२ बलमा पाँच चौकाको मदतले २५ रन बनाएका भुर्तेल लेगा साइकाबाट क्याच आउट भएका थिए।

 

लगत्तै अर्को ओभरमा रोहित पौडेल आउट भएपछि खेल ४४ / २ को स्थितिमा पुग्यो।

 

त्यसपछि प्रतियोगितामा उच्च फर्ममा देखिएका ऐरीले ओपनर आसिफ शेखसँग मिलेर खेल अगाडि बढाए।

 

तर १२औँ ओभर नेपालको लागि निकै महँगो ओभर साबित भयो।

 

सो ओभरमा पपुवा न्यूगिनीका बायाँ हाते तेज गतिका बलर सेमो कामियाले नेपालका तीन खेलाडीहरूलाई आउट गरेर नेपाली ब्याट्सम्यानहरुलाई ठूलो दबाव दिएका थिए।

 

उक्त ओभरको पहिलो बलमा आशिक आउट हुन पुगे।

 

उनी २९ रनमा रहँदा साइकाबाट समातिएका थिए भने तेस्रो बलमा उनका दाजु आरिफले कप्तान भालालाई सामान्य क्याच थमाउन पुगे।

क्रिकेट

क्रिकेट

त्यसपछि आएका दिलीप नाथ पनि बचेनन्। दोस्रो बलको सामना गर्ने क्रममा कामियाले उनलाई बोल्ड गरिदिए।

 

नेपालको ब्याटिङ अचानक ८२ । ५ को धरमराउँदो अवस्थामा पुगेको थियो।

 

ऐरीको १,००० रन

यद्यपि ऐरीले रन जोडने काम जारी राखेका थिए। उनले आदिल आलमसँग मिलेर छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गरे।

 

उदीयमान आलम १६औँ ओभरको अन्तिम बलमा आउट भए। उनले १२ बलमा १५ रन बनाएका थिए।

 

त्यसपछि आएका करण केसीले ऐरीसँग रनको वर्षा गर्दै नेपाललाई सुरक्षित स्कोर तिर लगेपछि कीर्तिपुर मैदानमा उपस्थित दर्शकमा रोमाञ्च भरेका थिए।

 

केसीले १२ बल खेल्ने क्रममा ५ चौका र एक छक्का सहित अविजित ३३ रन जोडे।

 

ऐरीले २० औँ ओभरमा आफ्नो अर्धशतक पूरा गरे। ३८ बलको सामना गरेका उनले अविजित ५४ रन जोडे, जसमा ५ चौका सामेल छ।

 

कुल ३९ टी २० खेलेका ऐरीले यो क्रममा एक शतक सहित पाँच अर्धशतक प्रहार गरेका छन्। जारी श्रृखलामा मात्र उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका हुन्।

Image

 

यसअघि टी २० मा नेपालबाट बढी रन प्रहार गर्ने पारस खड्काले ७ सय ९९ रन बनाएका थिए।(बीबीसी नेपालीबाट)

Share Now

Leave a comment.