काठमाडौं, २३ चैत्र ।। नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो र भरपर्दो मानिएको बुद्ध एयरले नयाँ बर्ष २०७९को अवसर पारेर अन्तरप्रादेशिक उडान अन्तर्गत पोखराबाट भद्रपुर उडान सुरु गर्ने भएको छ।
कम्पनीले वैशाख २ गतेबाट यो गन्तब्यमा उडान सुरु गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार यस रुटका लागि एकतर्फी सुरुवाती भाडादर ६ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले पोखरा(भद्रपुर तर्फको उडान दिउँसो १ः२५ बजे र भद्रपुर(पोखरा उडान दिउँसो ३ः०० बजे गर्ने तालिका रहेको जनाएको छ।
नेपाल भाषीहरुको बाहुल्य रहेको भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढी, असामबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई सीधै नेपालको पर्यटकीय नगरी पोखरा पुर्याउन यो यात्राले निकै सहज बनाउने विश्वास बुद्ध एअरले लिएको छ।
यस्तै छोटो समयमा पूर्वी नेपालको इलाम र झापाको चियाबगान, दार्जिलिड. र सिक्किम घुम्न चाहने पोखरा र वरपरका नेपालीलाई पनि यो उडानले सहज बनाउने छ ।
बुद्ध एअरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज तयार गरिसकेको छ।
भद्रपुर–पोखरा प्याकेजका लागि तयार गरिएको १५ हजार रुपैयाँ अन्तर्गत पर्यटकले दुई रात तीन दिनको प्याकेज लिन सक्नेछन्।
यस अन्तर्गत दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको कम्पनीले जनाएको छ।


















