मेलम्ची(सिन्धुपाल्चोक), ३० चैत्र । मेलम्ची खानेपानी आयोजनाको सुरुड.मर्मतपछि मङ्गलवार पानी पठाउन शुरू गरिएको छ ।
यस संगै उपत्यकामा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी आउने आशा पलाएको छ।
आयोजनाको हेडवर्क्स भनिने संरचनाको मर्मत एवं सुरुङ तथा त्यहाँ पुग्ने रूटको सफाइ कार्य सकिएसँगै पानी पठाइएको मेलम्ची खानेपानी आयोजना विकास समितिका अधिकारीहरूले बताएका छन्।
२०७७ साल फागुनदेखि परीक्षणका रूपमा मेलम्चीको पानी उपत्यकामा ल्याइएको थियो । उक्त परियोजनाको सुरुङ खाली गराउने कार्य सुरु भएकै दिन मेलम्चीमा आएको बाढीले आयोजनामा प्रभावित भएको थियो।
आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो।
पानी भर्न कति समय लाग्छ ?
मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार मेलम्चीको मुख्य सुरुङमा पानी भर्न दुई सातासम्म लाग्न सक्छ।
“सुरुङभित्र पानी भर्न १२ देखि १५ दिन लाग्न सक्ने हाम्रो अनुमान छ। लगभग १५ दिनभित्र सुन्दरीजलसम्म हामी पानी पठाउँछौँ “, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले भन्नुभयो।
अङ्कमा मेलम्चीस् दुई दशक समय र ३५ अर्ब रुपैयाँको इतिवृत्त
उनका अनुसार यसअघि पहिलो पटक परीक्षण गर्दा सुन्दरीजलसम्म पानी पठाउन आयोजनालाई १३ दिन लागेको थियो।
प्रतिसेकेन्ड २६५ लिटर पानी मुख्य सुरुङमा पठाउन लागिएको र त्यसका लागि सुरुङका सबै द्वारहरू बन्द गरिएको कुँवरले बताउनुभयो।
धारामा आउन कति दिन लाग्छ ?
कुँवरका अनुसार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट अबको १५ दिनमा वितरण गर्न सकिनेछ।
त्यहाँबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले काठमाण्डू उपत्यकाको मुख्यतः चक्रपथभित्रका क्षेत्रमा पानी वितरण गर्नेछ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार पुराना र परीक्षण गरिसकिएका नयाँ धारामा पनि पानी दिने योजना रहेको छ।
“करिबकरिब पुरानै अवस्था हो तर नयाँ धाराहरू जडान भएर परीक्षण भइसकेका नयाँ सञ्जाल (धारो)मा पनि हामी पानी दिन्छौँ “, उहाँले भन्नुभयो।
पुराना धाराको सङ्ख्या सवा २ लाख रहेकोमा नयाँ थपिएर अहिले २ लाख ४१ हजार पुगेको प्रवक्ता राईले बताउनुभयो।
मेलम्ची
चक्रपथभित्रका र कीर्तिपुरका केही ठाउँमा पनि मेलम्चीको पानी पठाउने केयूकेएलको योजना छ।
“हामीले अहिले सुक्खायाममा दैनिक ११ करोड लिटर पानी वितरण गरिरहेको अवस्था छ भने मेलम्चीबाट थप दैनिक १७ करोड लिएर प्राप्त हुनेछ”, राईले भन्नुभयो।
केयूकेएलका अनुसार दैनिक आउने पानी थपिएपछि उपभोक्ताको धारामा आउने पानीको समय पनि बढ्नेछ।
“यसअघि हामीले कतिपय ठाउँमा चौबीसै घण्टा पानी दियौँ भने कतिपय ठाउँमा कतिपय ठाउँमा दुई दिन बिराएर दियौँ “, अघिल्लो पटकलाई स्मरण उहाँले भन्नुभयो।
कहिलेसम्म पानी आइरहला ?
अहिले आउन लागेको मेलम्चीको पानी स्थायी रूपमा नपाइने मेलम्ची खानेपानी आयोजना विकास समितिले स्पष्ट पारेको छ।
“यो बर्खायाम अघिसम्म मात्रै हो। यो अस्थायी रूपमा आएको हो। बर्खायाम शुरू हुनुअगावै हामी बन्द गर्छौँ “, इन्जिनियर कुँवरले बताउनुभयो।
उहाँका अनुसार आयोजनाका कतिपय संरचनाका कामहरू अझै भइरहेका छन् र त्यसमा समय लाग्नेछ।
“अहिले त पानी पथान्तरका लागि मात्रै गरेको काम हो। अरू कामहरू त निरन्तर भइरहेका छन्”, कुँवरले थप्नुभयो।
महत्त्वपूर्ण घटनाक्रम
मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाडौं आइपुगेको थियो।
विसं २०२९ः खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
विसं २०४१ः मेलम्चीसहित २२ विकल्प पहिचान
२०४८ : आम चुनावमा काठमाडौं १ बाट नेपाली कांग्रेसको उम्मेद्वार बन्नुभएका नेपाली कांग्रेसका सभापति तथा तात्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईद्धारा आफू निर्वाचित भएमा मेलम्चीको पानी ल्याएर काठमाडौंको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता सार्वजनिक
विसं २०४९ः याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
विसं २०५५ः मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
विसं २०६४ः नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन ( मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
विसं २०७७ फागुन २२ः मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
विसं २०७७ चैत १५ : मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
विसं २०७७ चैत २०ः राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
विसं २०७८ असार पहिलो साताः बाढीबाट ठूलो क्षति
भट्टराईको सपना
नेपाली कांग्रेसका तात्कालीन सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले २०४८ सालको निर्वाचनमा बानेश्वरमा भाषण गर्दा राजधानीमा पानीको अभाव भएकोले मेलम्चीबाट पानी ल्याएर सधैको लागि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भ्रष्टाचाररहित निर्मल छविका भट्टराईले जितेको भए यो आयोजना निकै छिटो बन्नेमा कुनै शंंका थिएन । यसमा उहाँको अन्तरमनदेखिको प्रतिबद्धता थियो ।उहाँको अन्तरिम मन्त्रिमण्डल भ्रष्टाचारबाट मुक्त थियो ।

मेलम्चीको पानी पथान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री उमाकान्त चौँधरीले स्व. कृष्ण प्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा परुरा गर्न पाएकोमा गौरव लागेको बताउनुभयो ।
उहाँले बाढीबाट क्षतिग्रस्त समुदायको पुनःस्थापनाका लागि सरकारले योजना बनाएको पनि मन्त्री चौधरीले बताउनुभयो ।


















