काठमाडौं, ३० चैत्र। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगममा दुई जना नयाँ सञ्चालकलाई नियुक्ति दिनुभएको छ ।
मन्त्री आलेले गत २१ गते निगमका दुई सञ्चालक ईश्वरी पौडेल र फुर गेल्जे शेर्पालाई बर्खास्त गरेर त्यसको भोलिपल्ट कांग्रेसको सिफारिसमा क्याप्टेन सुधीर राई र नेकपा एकीकृत समाजवादीको सिफारिसमा संगम बीसीलाई नियुक्त गर्नुभएको हो ।
क्याप्टेन राई नेपाल वायुसेवा निगमबाट अवकाशप्राप्त व्यक्ति भएकोले सञ्चालक समितिमा उहाँको उपस्थितिले निगमका अल्झिएर बसेका विषयहरु छिटो टुंगिने विश्वास गरिएको छ ।
निगमसंग स्वार्थ बाझिएको भन्दै दुई सञ्चालक ईश्वरी पौडेल र फुर गेल्जे शेर्पालाई निगमका तीनवटै कर्मचारी युनियनहरुले निगमको केन्द्रीय कार्यालय पस्न र सञ्चालक समितिको बैठकमा उपस्थित हुन रोक्दै आएका थिए ।
यसैबीच निगमका कर्मचारीहरुलाई आश्वस्त नपारिकन हतार हतार निगमलाई कम्पनीमा लैजान खोजेको आरोप खेप्नुभएका महाप्रबन्धक डिमप्रकाश पौडेलसंग सरकारले दोस्रो स्पष्टीकरण सोधेको बुझिएको छ । उहाँले पहिलो स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएकोले दास्रो स्पष्टीकरण सोधेको बताइन्छ ।
निगमका कर्मचारीहरुले महाप्रबन्धक पौडेलले तात्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र प्रधानमन्त्री के.पी.शर्मा ओलीको संयुक्त प्रयासमा निगमलाई कम्पनीकरण गरेर यति ग्रुपलाई जिम्मा लगाउन खोजेको आरोप लगाउदै उहाँलाई कार्यालयमा प्रवेश गर्न रोकेका थिए ।
लामो समयसम्म कार्यालय पनि जान नपाएका महाप्रबन्धक पौडेललाई मन्त्री आलेले मन्त्रालय तान्नुभएको छ ।


















