नयाँ वानेश्वर(काठमाडौं), २९ फागुन । नेपालको सर्वोच्च पद राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुन: निर्वाचित भएकी छिन्।
राष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा बहालवाला राष्ट्रपति भण्डारीले दुई तिहाई भन्दा ठूलो मतभार प्राप्त गरिन् ।
उनले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन भने नेपाल कांग्रेसबाट उम्मेद्वार बनेकी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्।
राष्ट्रपतिमा निर्वाचित हुनुपूर्व एमालेको उपाध्यक्ष रहेकी भण्डारीलाई बाम गठबन्धनको तर्फबाट साझा उम्मेद्वार बनाउने निर्णय संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले गरेको थियो। उनलाई बामगठबन्धनमा रहेको माओवादी केन्द्रको पनि समर्थन थियो । निर्वाचनका क्रममा मधेशवादी राजनीतिक दलहरु संघीय समाजवादी फोरम, राष्टिय जनता पार्टी, राष्टिय प्रजातन्त्र पार्टीले पनि समर्थन गरेका थिए ।
पदमा रहेर नै निर्वाचनमा प्रतिस्पर्धा गरेकी भण्डारी संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन्। त्यतिबेला रुपान्तरित संसदले उनलाई राष्ट्रपति चयन गरेको थियो।
राष्ट्रपति हुनु अघि उनी नेकपा एमालेको उपाध्यक्ष थिइन्। त्यसअघि उनले २०६६ सालमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।
भण्डारी एमाले नेता मदन भण्डारीकी श्रीमति हुन्। तत्कालिन अवस्थामा मालेबाट भातृ संगठनमा राजनीतिमा लागेकी उनले मदन भण्डारीसँग २०३९ सालमा विवाह गरेकी थिइन्।
२०५० सालमा पति मदन भण्डारीको दासढुंगा मोटर दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् । उनले काठमाडौंको उप निर्वाचनमा नेपाली कांग्रेसका तात्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई परराजित गरेकी थिइन।
२०५४ सालमा उनी एमालेको केन्द्रीय सदस्य निर्वाचित भइन्। त्यसपछि लगातार पार्टी केन्द्रीय राजनीतिमा संलग्न हुँदै एमाले उपाध्यक्षसम्म बनिन्।
उनी २०५४ सालमा जनसंख्या तथा वातावरण मन्त्री समेत नियुक्त भएकी थिइन्।