काठमाडौं, ४ बैशाख(बीबीसी) । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससको आसन्न नेपाल भ्रमणमा सरकारले महामारीको पूर्वतयारी सहितका क्षेत्रमा उक्त निकायको सहयोग र समर्थन खोज्नुपर्ने विज्ञहरूले बताएका छन्।
बिहीवारबाट हुने डा. टेड्रोसको भ्रमणले जनस्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय निकायले नेपालप्रति राखेको शुभेच्छा र प्राथमिकता प्रकट गर्ने अधिकारीहरूको विश्वास छ।
डब्ल्यूएचओसँगको नेपालको सहकार्य लामो रहेको भन्दै विज्ञहरूले कोरोनाभाइरसको महामारीबाहेक अन्य जनस्वास्थ्यका क्षेत्रमा नेपालले भोगीरहेका चुनौतीहरू पनि अगाडि राखिनुपर्ने उल्लेख गरेका छन्।
नेपाल भ्रमणमा उहाँले सरकारका उच्च पदस्थ्य अधिकारीहरूलाई भेट्ने बाहेक खोप केन्द्रहरूको पनि प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम छ।
भ्रमणको उद्देश्य
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार भारत हुँदै टेड्रोस नेपाल आउन लागका हुन्।
उहँले भन्नुभयो, “हाम्रो स्वास्थ्यमन्त्रीको निम्तोमा यो भ्रमण हुन लागेको हो। विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको भ्रमणलाई हामीले महत्त्वका साथ हेरेका छौँ।”
भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले अघि बढाइरहेको भन्दै उनले त्यसमा विभिन्न उच्चस्तरीय भेटवार्ता र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू रहेको उहँले उल्लेख गर्नुभयो।
नेपालमा रहँदा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

त्यसबाहेक उहाँले स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट्ने कार्यक्रम रहेको छ।
टाईफोइड रोग विरुद्धको खोप अभियानको पनि उहँले अवलोकन गर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।
भारतमा परम्परागत औषधिसम्बन्धी डब्ल्यूएचको विश्वव्यापी केन्द्रको शिलान्यास समारोहमा सहभागी हुन टेड्रोस त्यहाँबाट नेपाल आउन लाग्नुभएको हो।
महामारी व्यवस्थापनलाई प्राथमिकता
कोरोनाभाइरसको महामारीको समयमा ट्रेड्रोसले खासगरी साना र कम विकसित देशहरूसम्म खोपको पहुँच पुर्याउन विकसित देशहरूले मद्दत गर्नुपर्ने आवाज उठाउनुभएको थियो।
उहाँले नेपालको दुर्गम भेगमा खोप पुर्याउने काममा खटिएका स्वास्थ्यकर्मीको भिडिओलाई ट्विटरमार्फत सेयर गर्दै सबैको पहुँचमा खोप पुर्याउनुपर्ने धारणा समेत राख्नुभएको थियो।
भूतपूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती टेड्रोसको भ्रमण नेपालको स्वास्थ्य क्षेत्रलाई प्रोत्साहित गर्ने विषय भएको बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “डा. टेड्रोस आउँदा कोभिडले सिकाएको महामारीको पूर्वतयारीको विषयमा हामीले प्राविधिक सहयोगहरू हामीले खोज्नुपर्छ। उहाँसम्म त्यो विषय पुर्याउनुपर्छ।”

त्यसमा सहमति जनाउँदै इपिडिमिओलोजि तथा सरुवा रोग महाशाखाका भूतपूर्व प्रमुख डा. बाबुराम मरासिनी भन्नुहुन्छ, ूकोरोना महामारिको समयमा हाम्रो स्वास्थ्य प्रणालीको क्षमता केही कमजोर देखियो। त्यसको सुधारका लागि हामीले सहयोग खोज्नुपर्छ।ू
कोरोनाभाइरसको महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू प्राप्त गर्न सघाएको थियो भने महामारी उच्च विन्दुमा रहँदा नेपाललाई सहयोग गर्न अनुरोध समेत गरेको थियो।
इपिडिमिओलोजि तथा सरुवा रोग महाशाखाका अर्का भूतपूर्व प्रमुख डा. जीडी ठाकुर कोभिड(१९ नियन्त्रण र खोप कार्यक्रममा नेपालले हासिल गरिरहेका प्रगतिलाई थप प्रोत्साहित गर्न यो क्षेत्रको भ्रमण गर्दा टेड्रोसले काठमाडोंलाई पनि गन्तव्य बनाएको बताउनुहुन्छ।
उहाँले थप्नुभयो, “साँघुरो दृष्टिकोण राखेर खाली एउटै विषयमा मात्रै कुरा गरेर हुँदैन्। नेपाललाई कुन क्षेत्रमा के कुरा राख्दा फाइदा हुन्छ त्यो हेर्नुपर्छ।”
नसर्ने रोग नियन्त्रणमा थप सहयोगको खोजी
उप्रेती टेड्रोस आउँदा नेपालले घातक प्रकृतिका रोगहरूको उपचारमा डब्ल्यूएचओबाट थप सहयोग जुटाउन पैरवी गर्नुपर्ने बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “अहिले भुसको आगो भएर भित्र भित्रै नसर्ने रोगहरूले कुल मृत्युको झन्डै ७० प्रतिशतसम्म निम्त्याइरहेका छन्।”
“मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, मिर्गौला रोग, मधुमेह लगायतका बारेमा मुलुकले आफ्नो योजना बनाएको भएपनि त्यसलाई व्यवहारमा उतार्नका लागि प्राविधिक सहयोग लिने र केही वित्तीय सहयोगका लागि दातृ निकायहरूलाई समन्वयन गरिदिन अनुरोध गर्नुपर्छ।”

उहाँले सर्ने र नसर्ने रोगहरू र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा आफू सँगै सँगै काम गर्न तयार रहेको सन्देश नेपालले प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो।
डा. ठाकुर डब्ल्यूएचओका प्रमुखको भ्रमणको निक्कै महत्त्व रहने भन्दै नेपालले त्यसको सदुपयोग गर्नुपर्ने ठान्नुहुन्छ।
उहाँ भन्नुहुन्छ, “उनीहरूले सहयोग गरिरहेका क्षेत्रमा निरन्तरता दिनुपर्ने कुरा राख्नुपर्छ भने नसर्ने रोगहरूको उपचारमा उनीहरूले कस्तो थप मद्दत गर्न सक्छन् जस्तो औषधि वा तालिम वा अन्य प्राविधिक सहयोग यसमा छलफल गर्नुपर्छ।”
डा. मरासिनी औषधिको प्रभावकारिता कमजोर भएका कारण क्षयरोगको उपचारमा केही समस्या देखा परिरहेको भन्दै त्यसमा पनि सहयोग खोजिनुपर्ने धारणा राख्नुहुन्छ।
उहाँका अनुसार मल्टी ड्रग रेजिसटेन्स एमडीआर टिबी सर्ने जोखिम बढेको छ र त्यसको उपचार पनि खर्चिलो भएको छ।
त्यसबाहेक सङ्घीय प्रणालीमा गइसकेपछि नेपालका स्वास्थ्य निकायहरूको समन्वय र क्षमता दुवै कमजोर बनिरहेको भन्दै त्यसको हल गर्ने उपायबारे पनि छलफल गरिनुपर्ने डा. मरासिनीको सुझाव छ।
डब्ल्यूएचओको वेबसाइटका अनुसार उसले नेपालमा चारवटा मुख्य क्षेत्रहरूमा काम गर्ने गरेको छ।
त्यसमा नेपालको सङ्घीय संरचना अन्तर्गत आधारभूत स्वास्थ्य सेवाको विस्तार गर्ने, प्राथमिकतामा रहेका सार्वजनिक स्वास्थ्य कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न सघाउने, स्वास्थ्य सुरक्षा र विपद् प्रतिकार्यमा मद्दत गर्ने र नसर्ने रोग, वातावरण एवं जलवायु परिवर्तन सहितका क्षेत्र समेटिएका छन्।


















