काठमाडौँ, ७ वैशाख । सत्ता गठबन्धनका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेल अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएकौ बताइएको छ ।
सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गर्नुभएको हो तर यो समाचार तयार पार्दा राति १ः०० बजेसम्म समझदारीपत्रमा हस्ताक्षर भइनसकेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहिलो चरणको छलफलपछि चुनावी तालमेलको विषयमा सत्तारूढ दलहरू निष्कर्ष नजिक पुगेको बताउनुभएको छ।
बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलका अनुसार छ महानगरमध्ये तीनवटा नेपाली काँग्रेसलाई र अन्य तीनवटा क्रमशः माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई दिने गरी छलफल केन्द्रित छ ।
त्यसैगरी, ११ उपमहानगरपालिकामध्ये सातवटाको नेतृत्व नेपाली काँग्रेस, दुईवटा माओवादी केन्द्र र एक–एकवटा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने गरी छलफल भएको उहाँले बताउनुभयो । डा. पौडेलले भन्नुभयो, “काठमाडौँ महानगरपालिकासहित ललितपुर र विराटनगरको नेतृत्व काँग्रेसलाई, भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादीलाई दिने गरी छलफल भइरहेको छ ।”
त्यसैगरी, उपमहानगरपालिकातर्फ इटहरी, धरान, बुटवल, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पद काँग्रेसले लिने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । जितपुर सिमरा र घोराही माओवादी केन्द्रलाई, हेटौँडा एकीकृत समाजवादीलाई र जनकपुर जनता समाजवादीलाई दिने गरी सहमति नजिक पुगेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री निवासमा दुई चरणमा सम्पन्न बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दलसम्बद्ध निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देवप्रसाद गुरुङ सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोककुमार राई तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीसहित पाँच दलका नेताहरू सहभागी हुनुहुन्थ्यो ।


















