Prakash Adhikari October 20, 2017


काठमाडौं, ३ कार्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपाल सम्बत् ११३८ को अवसरमा राजधानीका काठमाडौ र ललितपुरमा आयोजित कार्यक्रममा देशले सुम्पेको जिम्मेवारी पूरा गर्न आम नागरिकबाट आफूले साथ र सहयोग पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

 

नेपाल संवत ११३८ को अवसरमा शुक्रबार काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा सरकार लागिपरेको बताउदै प्रधानमन्त्री देउवाले राजनीतिक स्थायित्वले मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउने भएकोले निर्वाचन पछि मुलुक समृद्धिको मार्गमा लाग्ने दाबी गर्नुभयो ।

उहाँले लोकतन्त्रको सवलीकरण, आर्थिक समृद्धि र नागरिकको अधिकार रक्षाका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभयो ।

 

प्रधानमन्त्री देउवाले नेपाल संवत् मौलिक संवत् रहेको चर्चा गर्दै यसको संरक्षण, संवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवतको शुरुवात गरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन १० लाख रूपैयाँ सरकारका तर्फबाट प्रदान गरिने घोषणा गर्नुभएको थियो ।

 

नेपाल संवत्कै अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले
हाम्रो मौलिक संस्कृतिनै हाम्रो गौरव भएको बताउदै भन्नुभयो, यो नै नेपालीपनको सच्चा पहिचान हो ।

 

Share Now

Leave a comment.