Prakash Adhikari May 1, 2022

मस्को(रुस)। १८ बैशाख(बीबीसी) । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले गत फेब्रुअरी महिनायता युक्रेनबाट १० लाख मानिसहरूलाई उद्धार गरिएको दाबी गरेका छन्।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गर्न सुरु गरेको थियो। त्यसपछि मस्कोले युक्रेनी नागरिकहरूलाई इच्छाविपरीत सीमापारि लगिरहेको आरोप युक्रेनले बारम्बार लगाउने गरेको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै लाभ्रोभले उद्धार गरिएकामध्ये १ लाख २० हजार विदेशी नागरिक रहेको बताउनुभएको छ।

उहाँका अनुसार त्यसबाहेक रुसले युक्रेनबाट भिन्न भएको दाबी गरेका डोनेत्स्क र लुहान्स्क गणतन्त्रका बासिन्दा पनि छन्।

उहाँले युक्रेनसँगको द्वन्द्वको समाधान वार्तामार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पुनः लगाउनुभएको छ।

किएभमा रहेका बीबीसीका जोल हन्टरका अनुसार रुसले युक्रेनमा आक्रमण गरेयता ठूलो सङ्ख्यामा मानिसहरूलाई बलजफ्ती आफ्नो सीमातर्फ पठाइरहेको थप प्रमाणहरू फेला परिरहेका छन्।

पुटिनसँग वार्ता जेलेन्स्कीको चाहना

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले शुक्रवार आफू राष्ट्रपति पुटिनसँग वार्ताका लागि अझै पनि तयार रहेको बताएका थिए।

तर उनले रुसको आक्रामक व्यवहारका कारण वार्ता भङ्ग हुने जोखिम उच्च रहेको बताउनुभयो।

रुसको रोस्टोभ क्षेत्रमा शरणार्थी
रुसको रोस्टोभ क्षेत्रमा मारिऊपोलबाट गएका शरणार्थीहरू

पोल्यान्डको सञ्चारमाध्यमसँग बोल्दै उहाँले रुसमा ुएकजना व्यक्तिले मात्रै सबै कुराको निर्णय लिने भएकालेु आफूले पुटिनसँग भेट्न चाहेको बताउनुभयो ।

तर रुसी फौजहरूले रुसी नियन्त्रणमा पुगेका क्षेत्रमा भएको विध्वंसले वार्तालाई थप जटिल बनाएको उहाँले बताउनुभयो।

ूबुचा र मारिऊपोलपछि मानिसहरू उनीहरूलाई मार्न चाहन्छन्। त्यस्तो मनोदशा भएकाले कुनै पनि विषयमा वार्ता गर्न गाह्रो हुन्छ,ू उहाँले भन्नुभयो ।

बिहीवार युक्रेनले किएभको उत्तरमा पर्ने बुचामा कम्तीमा ४ सय सर्वसाधारणको हत्यामा आरोपित १० रुसी सैनिकको खोजी अघि बढाउने घोषणा गरेको थियो।

बुचामा सामूहिक चिहानहरू फेला परेका छन्
बुचाबाट रुसी सेना अन्यत्र गएपछि त्यहाँ सामूहिक चिहानहरू फेला परेका छन्

युक्रेनका उपप्रधानमन्त्रीले बीबीसीसँग कुरा गर्दै मस्कोले रुसी सैन्य बन्दी र युक्रेनी नागरिक साटफेर गर्ने प्रयास गरेको जनाउनुभएको छ। त्यस्तो कदम जिनिभा महासन्धिबाट वर्जित हुने उहाँको भनाइ छ।

रुसले शुक्रवार आफ्नो सेनाले राष्ट्रसङ्घीय महासचिव युक्रेनको राजधानीमा रहेकै अवस्थामा एउटा हवाई आक्रमण गरेको पुष्टि गरेको थियो।

त्यसमा एक पत्रकार भिरा हाइर्चको ज्यान गएको थियो। उहाँ बसेको आवासीय भवनमा क्षेप्यास्त्र लागेको थियो।

रुसी रक्षा मन्त्रालयले किएभमा रहको क्षेप्यास्त्र उद्योगलाई लक्षित गर्दै ठ्याक्कै निसाना लगाउन सक्ने किसिमको लामो दूरीको अस्त्र प्रहार गरेको उल्लेख गरेको थियो।

रुसी विदेशमन्त्री
राष्ट्रसङ्घका महसचिवले मस्को र किएभ दुवैको भ्रमणमा

युक्रेनलाई थप अमेरिकी सहयोग
अमेरिकी विदेशमन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युक्रेनमाथि अतिक्रमण गरेर अनैतिक व्यवहार देखाएको आरोप लगाएको छ ।

प्रवक्ता जन किर्बी रुसले गरेको जघन्य अपराधको औचित्य कुन निष्ठावान् व्यक्तिले पुष्टि गर्न सक्छ भन्दै प्रश्न गर्नुभएको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले क्रङ्ग्रेसलाई युक्रेनका लागि ३३ अर्ब डलर बराबरको सैनिक, आर्थिक र मानवीय सहयोगका लागि अनुरोध गर्नुभएको छ।

उक्त प्रस्ताव घरेलु प्राथामिकतासम्बन्धी विवादका कारण कङ्ग्रेसमा अड्किएको छ तर संसद्की सभामुख न्यान्सी पलोसीले यथासम्भव चाँडो त्यसलाई पारित गराउने अपेक्षा आफूले गरेको बताउनुभएको छ।

किएभमा राष्ट्रपति जेलेन्स्कीले उक्त विधेयकको अनुमोदनले स्वतन्त्रताले दमनविरुद्ध आफ्नो प्रतिरक्षा गर्न सक्ने ठोस प्रमाण दिने बताउनुभएको छ।

यूकेले रुसको निरन्तरको अतिक्रमणविरुद्ध पश्चिमा विश्व एकमत रहेको सन्देश दिने उद्देश्य सहित झन्डै ८ हजार सैनिकलाई पूर्वी युरोपमा सैन्य अभ्यासका लागि खटाउन लागेको जनाएको छ।

Share Now

Leave a comment.