Prakash Adhikari May 1, 2022

सानेपा(ललितपुर), १८ वैशाख । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सात वटै प्रदेशमा आमसभा गर्ने भएको छ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि सात वटै प्रदेशमा आमसभा गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार एक विज्ञप्ति प्रकाशित गरी दिनुभएको जानकारी अनुसार प्रदेश १ को मोरङमा वैशाख २१ गते, मधेश प्रदेशको धनुषा वैशाख २२ गते र बागमती प्रदेशको काठमाडौंमा वैशाख २३ गते आमसभा हुनेछ ।

गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा हुनेछ ।

कांग्रेसका मुख्य सचिव पौडेलका अनुसार आमसभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्ने छन्।

धनराजको संयोजकत्वमा कार्यक्रम समन्वय उपसमिति

आमसभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन तथा परिचालन ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ले गर्ने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले शनिबारमात्रै उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गर्नुभएको छ।

उपसमितिमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार र केन्द्रीय सदस्य नानु बास्तोला सदस्य रहनुभएको छ।

उपसमितिको सदस्य सचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई राखिएको छ।

यसअघि पाँच दलीय गठबन्धनले सातै प्रदेशमा आमसभा गर्ने निर्णय लिएका थिए। तर गठबन्धनको आमसभा अन्तिममा स्थगित भएर पालिकामा केन्द्रित हुने निर्णय गरेर ती सभा रद्द गरिएको थियो।

रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको गत वैशाख ८ गते बसेको बैठकले वैशाख १८ देखि २२ गतेसम्म चुनावी सभा गर्ने निर्णय गरेको थियो।

वैशाख १८ गते बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र त्यही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावी सभा हुने तालिका थियो। १९ वैशाख बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र त्यही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा सभा हुने तालिका थियो।

तर लामो समय भागबन्डा मिलाउन गठबन्धन केन्द्रित हुँदा संयुक्त सभा स्थगित भएका छन्। अब कांग्रेस एक्लैले चुनावी सभा गर्ने निर्णय लिएको हो।

 

Share Now

Leave a comment.