काठमाडौं, ३० वैशाख। स्थानीय तह निर्वाचनको मतदानको क्रममा राजनीतिक दलका कार्यकर्ताहरुबीचको विवाद चर्कदै गएपछि रौतहटको गढीमाई नगर पालिका र हुम्लाको खार्पुनाथ नगरपालिकामा झडप भएको छ ।
गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय मतदान केन्द्रमा उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।
यस्तै गढीमाई नगरपालिका ६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको ।
यस्तै रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद देखिएको प्रहरीले जनाएको छ ।
हुम्लाको खार्पुनाथमा झडप, १० जना घाइते
हुम्लाको खार्पुनाथ गाउँपालिका १ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।
इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।
खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।
झडप भएसँगै मतदान प्रक्रिया रोकिएको छ । ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी छ ।


















