काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको उल्लेख छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. १७ मा भने आज मतदान भएको छैन । महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो ।
मतदानमा ज्येष्ठ नागरिक, अपाड.ग, क्रियापुत्री र अशक्त विरामीहरुको समेत उत्साहजनका सहभागिता देखिएको छ । बिरामीहरुलाई कसैलाई स्ट्रेचरमा त कसैलाई अक्सिजनको सिलिण्डर सहित मतदान प्रक्रियामा सरिक गराइएका तस्वीरहरुसहितका समाचारहरु प्रकाशित भएका छन् ।
निर्वाचनका क्रममा बझाड., दैलेख,सप्तरी, जुम्ला, दार्चुला, अछाम, बैतडी, काभ्रेपलाञ्चोक, महोत्तरी, गोर्खा, रौतहट, सर्लाही,ओखलढुंगा, गोरखा,लमजुड.,बारा,रामेछाप,हुम्ला, सिन्धुपाल्चोक, बाजुरा,बाँके,बारा, दोलखा लगायतका जिल्लाका केही मतदान केन्द्रमा विवादले झडपको रुप लिएर केही समय मतदान स्थगित भएको थियो ।
स्थानीय मतदान अधिकृत र सुरक्षाकर्मीहरुको संयुक्त पहलमा राजनीतिक दलका प्रतिनिधि बसेर विवाद समाधान गरेपछि स्थगित भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा पुनः सञ्चालित भएको छ ।
मतदानको अन्तिम समय ५ बजेसम्म कूल मतदाताको ६० प्रतिशत बढीले मतदान गर्ने अनुमान गरिएको छ ।


















