दमौली(तनहुँ)। तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।
दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो ।
ब्यास नगरपालिका ८ मा रिस्तीमा मतदान केन्द्र निरीक्षण गर्न पुग्नुभएका जोशीमाथि आक्रमण भएको थियो ।
मतदानस्थलमा आफ्नो प्रतिनिधि खोज्ने क्रममा विवाद उत्पन्न भएको थियो। मतदानस्थलमै मतपत्र च्यातेपछि जोशी समूह र कांग्रेस समूहबीच झडप भएको हो।
‘एजेन्टको विषयलाई लिएर जोशीले एक्कासि मतपत्र च्यात्नुभयो। त्यसपछि झडप भएको हो’, बहालवाला वडा अध्यक्ष ओझाराज पौडेलले भन्नुभयो।
दीपक पूर्वमन्त्री गोविन्दराज जोशीको छोरा हुनुहुन्छ। स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिनुभएका जोशीलाई एमालेको समर्थन छ।
उहाँले पनि एजेन्टको विषयमा बुझ्दा आफूमाथि आक्रमण भएको उनले बताउनुभएको छ ।
आक्रमणपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै उहाँले भन्नुभएको छ,‘हामी हाम्रो एजेन्ट किन छैन भन्दै मतदान अधिकृतसँग सोध्दा ममाथि हमला गरियो। ’
‘मेरो टाउको फुटेको छ। २ मिनेट मात्र भित्र नआएको भए म मरिसकेको हुन्थें,’ उहाँले भन्नुभएको छ।


















