काठमाडौं, ३० वैशाख । निर्वाचन आयोगले योग्य मतदातामध्ये करिब ६४ प्रतिशतले मात्रै स्थानीय तह निर्वाचनमा मतदान गरेको जनाएको छ।
शुक्रवार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा कम मतदान भएको जानकारी दिनुभयो।
“चौसट्ठी प्रतिशत मतदान भएको अहिले प्रारम्भिक अनुमान छ, मलाई लाग्छ यसको हाराहारीमै मतदान होला भन्ने छ। आयोगले अपेक्षा गरे अनुसार मतदान भएन कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो।
वि.सं. २०७४ सालमा सङ्घीय संरचना कार्यान्वयनमा आएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत बढीले मतदान गरेका थिए।
तर त्यसपछिको संसदीय निर्वाचनमा ७० प्रतिशत भन्दा कम मतदान भएको थियो।
आयोगले कम मतदान हुनुको कारण पहिल्याउन बाँकी नै रहे पनि धेरै मतदाता भएका स्थानमै काम मतदान भएका कारण यो स्थानीय तह निर्वाचनमा अनुमान गरिएभन्दा कम मत खसेको जनाएको छ।
काठमाडौंमा ५२ प्रतिशत मात्रै
“धेरै मतदाता भएको स्थानमा कम मतदान हुने बित्तिकै थोरै मतदाता भएका ठाउँमा धेरै मतदान भए पनि समग्रमा कम मतदान भएको देखिन्छ”, थपलियाले भन्नुभयो।
आयोगले काठमाडौं महानगरपालिकामा प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको छ।
“मतदान केन्द्रहरूमा स्पष्ट पहुँच र सबै सुविधा हुँदा हुँदै पनि अहिले करिब ५२ प्रतिशत मात्रै मतदान भएको छ भन्ने प्रारम्भिक तथ्याङ्क जुन छ यो त्यति सन्तोषजनक मलाई लागिरहेको छैन”, थपलियाले भन्नुभयो।
३ लाख मतदाता रहेको महानगरमा पाँच वर्षअघि भएको निर्वाचन भन्दा करिब २१,००० नयाँ मतदाता थपिएका छन्।
विसं २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा २ लाख ७९ हाजर ३ सय ९ जना योग्य मतदाता थिए।
उक्त निर्वाचनमा कुल मतदाताको ७० प्रतिशत मत मात्रै महानगरमा खसेको थियो। खसेको मत मध्ये पनि १५ प्रतिशत मत बदर भएको थियो।
जसमध्ये ६४ हजार ९ सय १३ मत ल्याउनुभएका नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले निकै फराकिलो मत अन्तरले कांग्रेस उम्मेदवार राजुराज जोशीलाई पराजित गर्नुभएको थियो।
जोशीले ४५ हजार २ सय ६८ मत ल्याउनुभयो। माओवादीका सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ मत ल्याउनुभएको थियो।
आयोगले देशभरिका ७ सय ५३ स्थानीय तहमध्ये अधिकांश स्थानमा मतदान शान्तिपूर्ण भए पनि केही स्थानमा झडप र विवादका कारण मतदान स्थगित भएको जनाएको छ।
शुक्रवार साँझ ८ बजेसम्म पनि कतिपय स्थानमा मतदान कार्य जारी रहेको जनाएको छ।
केही स्थानीय तहमा मात्रै शुक्रवार रातिबाट मतगणना प्रारम्भ गर्ने र केही अन्य स्थानीय तहमा शनिवार बिहानबाट मात्रै मतगणना सुरु हुने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो।
यसपालिको चुनावमा निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मत खसाल्न पाउने योग्य मतदाता थिए।


















