काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत दुर्गमस्थानका जनसंख्या कम भएका गाउँपालिकाको पनि नतिजा आउन थालेको छ।
शनिबार बिहानसम्म विभिन्न ७ वटा गाउँपालिकाको नतिजा आइसकेको छ।
डोल्पाका ३ वटा पालिकामा अध्यक्ष निर्विरोध निर्वाचित भएकोमा शनिबार बिहान थप चार पालिकाको परिणाम आएको छ।
सात वटा पालिकाको घोषित परिणाम अनुसार नेकपा एमालेले ३ पालिका र नेपाली कांग्रेस र नेकपा समाजवादीले २ । २ पालिकामा विजय हासिल गरेका छन्।
एमालेले जितेका पालिका
एमालेले मनाङको चामे गाउँपालिका अध्यक्ष जितेको छ । चामेमा एमालेका लोकेन्द्र बहादुर घलेले कांग्रेसका छिरिङ दोर्जे लामालाई पराजित गर्नुभयो ।
६१० मत खसेको चामेमा घलेले ३२० मत पाउनुभयो भने लामाले २७९ मत । उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी हुनुभयो।
२०७४ को चुनाबमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जित्नुभएको थियो। भने उपाध्यक्ष पद कांग्रेसले नै जितेको थियो।
त्यस्तै मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी हुनुभयो । उहाँले प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।
त्यस्तै डोल्पाको शेफोक्सुन्डो गाउँपालिकमा एमालेका धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भैसक्नुभएको छ।
नेपाली कांग्रेस
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ।
लामाले स्वतन्त्र उम्मेदवार कृष्ण लामालाई पराजित गर्नुभएको थियो ।
सो गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसक्नुभएको छ।
नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी हुनुभएको छ।
लालचनले एमालेका सञ्जयकुमार थकालीलाई २ मते पराजित गर्नुभएको हो । लालचने ७ सय ६० मत ल्याउँनुभएको थियो ।
यो पालिकामा २०७४ मा नेकपा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी हुनुभएको थियो।
यो पालिकाको उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी हुनुभएको छ। त्यस्तै एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याउनुभएको छ।
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध हुनुभएको छ।
उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध हुनुभयो।
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध निर्वाचित हुनभएको छ। २०७४ मा उहाँ स्वतन्त्रबाटै पालिका अध्यक्ष बन्नुभएको थियो।


















