Prakash Adhikari May 18, 2022

काठमाडौं, ४ जेठ । स्थानीय तहको निर्वाचन २०७९ को परिणाम नेपाली कांग्रेसको पक्षमा जाने स्पष्ट संकेत देखिएको छ । बुधबार बिहान सम्म निर्वाचन आयोगले पुष्टि गरेको मतगणनाको प्रारम्भिक विजयपराजय तथा अग्रताको सङ्ख्याको आधारमा नेपाली कांग्रेसलाई सबभन्दा धेरै फाइदा पुगिरहेको देखिएको छ।

गत बर्ष विभाजित भएको नेकपा एमालेलाई निकै घाटा भएको देखिन्छ भने नेकपा माओवादी केन्द्रलाई थोरैमात्रै फाइदा पुगेको देखिन्छ।

देशभर ७ सय ५३ स्थानीय तहहरूमा मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरू गरि ३५ हजार २ सय २१ पद छन्।

सङ्ख्याको गणित

यसभन्दा अगाडि २०७४ सालमा भएको स्थानीय तह चुनावमा नेकपा एमालेले सर्वाधिक १४ हजार१ सय पदमा जितेको थियो जुन ४० प्रतिशत हुन आउँछ।

नेपाली कांग्रेस ११ हजार ४ सय ५६ पदसहित ३२.६ प्रतिशत पदमा विजयी भएको थियो भने नेकपा माओवादी ५ हजार ४ सय ४० पदसहित १५.५ प्रतिशत सिटमा विजयी भएको थियो।

अब २०७९ को स्थानीय चुनावको अहिलेसम्म पुष्टि भएका परिणाम वा अग्रता नियालौँ।

निर्वाचन आयोगले मङ्गलवार अपरान्हसम्म दिएको विवरणबमोजिम ३५ हजारमध्ये २४ हजार ८ भन्दा पदको मतगणना या त सम्पन्न भइसक्यो या भइरहेको छ।

तीमध्ये हालसम्म नेपाली कांग्रेसले विजय प्राप्त गरेको तथा अग्रस्थानमा रहेको पद समेत जोड्दा ९ हजार ४ सय ५१ हुन आउँछ। यो भनेको ३८ प्रतिशतमाथि हो अर्थात करिब ४० प्रतिशत ।

मतगणना

नेकपा एमालेको हकमा उक्त आँकडा ७,९२५ पद वा करिब ३२ प्रतिशत(३१.९) छ भने नेकपा माओवादी केन्द्रको हकमा उक्त आँकडा ३ हजार ७ सय ७१ पद वा १५.२० प्रतिशत रहेको छ ।

एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीले मंगलबार(अबेर)सम्म जितेको र अगाडि रहेको आँकडा ६०३ पद रहेको छ।

अर्थात् सुरुवाती सङ्केतले अघिल्लो चुनावको तुलनामा यसपाली कांग्रेसको पक्षमा पासा पल्टिएको देखाउँछ।

के भन्छन् नेताहरू ?
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रारम्भिक नतिजा आफ्नो दलको पक्षमा आउनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभएको छ।

“चुनाव अगाडि कांग्रेसले गरेको घरघर जाउँ अभियानदेखि लिएर कोभिड व्यवस्थापनमा सरकारको भूमिका अनि तालमेलले यो परिणाम दिएको छ”, उनले भने। तर प्राथमिक कारण पार्टीको बलबुता नै भएको पनि उहाँले बताउनुभयो।

तर कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेताहरू प्रारम्भिक मतपरिणामबाट त्यति सन्तुष्ट सुनिएका छैनन्।

माओवादीका नेता हरिबोल गजुरेल त यतिको नतिजा गठबन्धन नगरेको भएपनि आउने दावी गर्नुभएको छ।

२०७४ सालको स्थानीय चुनावमा दलगत अवस्था

nepali_congress cadres celebrate
७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१  पद(२०७४ साल)

नेकपा एमाले : १४,१००  (४० प्रतिशत)

नेपाली कांग्रेस : ११,४५६ (३२.६ प्रतिशत)

नेकपा माओवादी: ५,४४०  (१५.५ प्रतिशत)

 

“गठबन्धन भनेर भनियो तर मैदानमा त्यो देखिएन। सहमति पालना भएको पाइएन। त्यसकारण हामीले सोचेको जस्तो भएन”, उहाँले भन्नुभयो।
कतिपय पालिकाहरूमा बरु गठबन्धन नगरेको भए आफूहरूले जित्ने अवस्था रहेको उहाँले दावी गर्नुभयो।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मङ्गलवार एक सार्वजनिक कार्यक्रममा बोल्दै निर्वाचन र गठबन्धनको समीक्षा गरिने बताइसक्नुभएको छ।

“अहिलेसम्मको परिणाम हाम्रो पार्टीले प्राप्त गर्नु पर्ने जति छैन (होला)”, उहाँले भन्नुभयो।

सोही पार्टीका नेता मुकुन्द न्यौपानेले स्थानीय तहको निर्वाचन परिणाम एउटा पाठ भएको बताउनुभयो।

“कम्युनिस्टहरू सच्चिनु पर्छ भनेर जनताले पाठ सिकाइरहेका छन्”, न्यौपानेले भन्नुभयो।

नेकपा एमालेको बुझाइ

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सत्ताधारी पाँच दलीय गठबन्धनका कारण चुनावी मैदानमा एक्लिएको देखिएको थियो।

विजय जुलुस

त्यसैले अहिलेको परिणामलाई उक्त दलले धेरै स्वाभाविक नठानेको एमालेका नेता अमृतकुमार बोहोराले बताउनुभयो।

“यसलाई धेरै स्वाभाविक मानेका छैनौँ। हाम्रो जनमत र आधार बिग्रिएको थिएन। तर एउटा गठबन्धन बनेको कारण अनि अर्को सत्ता र प्रशासनको चरम दुरुपयोगका कारण यस्तो भएको हो”, उहाँले भन्नुभयो, “जति मत एमालेको पक्षमा आएको छ त्यो एउटा उपलब्धि मानेका छौँ र यसबाट राम्रो पाठ सिकेका छौँ।”

आफूबाट टुक्रिएर गएको दलले २ देखि ३ प्रतिशत पदमा जित्ने छाँटकाँट देखिनुलाई उहाँले गठबन्धनका कारण भएको तर्क दिनुभयो।

अन्तिम नतिजा आइसक्न अझै कैयन् दिन लाग्न सक्छ। त्यसपछि मात्रै गठबन्धनको सार्थकताबारे सत्ताधारी दलहरूले अन्तिम निचोड निकाल्ने ठानिएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.