नयाँदिल्ली(भारत), ४ जेठ (बीबीसी) । भारतको सर्वोच्च अदालतले सन् १९९१ मा पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी पाइएका एक जनालाई जेलबाट रिहा गर्न आदेश दिएको छ।
एजी पेरारीभलन ३० वर्षभन्दा लामो समयदेखि जेलमा बन्दी जीवन बिताइरहनुभएको थियो।
उहाालाई सन् १९९८ मा मृत्युदण्ड सुनाइएको थियो जुन पछि जेल सजायमा परिणत गरियो।
१९ वर्षको हुँदा पक्राउ पर्नुभएका पेरारीभलनलाई गान्धीको हत्याको लागि गराइएको बम विस्फोटमा प्रयोग भएका ब्याट्रीहरू खरिद गरेकोमा दोषी पाइएको थियो।
तमिलनाडु राज्यमा चुनावी र्यालीलाई सम्बोधन गर्दै गर्दा एक महिलाले गराएको आत्मघाती विस्फोटनमा गान्धीको ज्यान गएको थियो।
बदलाको कारबाही
सन् १९८७ मा गान्धी प्रधानमन्त्री हुँदा श्रीलङ्कामा भारतीय शान्तिसेना पठाएको बदलास्वरूप उहाँको हत्या गरिएको ठानिन्छ।
पेरारीभलन लिबरेशन टाइगर्स अफ तमिल इलम एलटीटीईका एक सदस्य हुनुहुन्थ्यो।
उक्त विद्रोही समूहले श्रीलङ्कामा अलग्गै तमिल राज्यको माग गर्दै सङ्घर्ष गरेको थियो।
सन् २००९ मा श्रीलङ्काली सेनाले उक्त समूहलाई पराजित गरिदिएको थियो।
बुधवार सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले भारतको संविधानले उसलाई कुनै मामिलामा सम्पूर्ण न्याय दिलाउन प्रदान गरेको असाधारण अधिकारको प्रयोग गर्दै पेरारीभलनलाई ३० वर्ष जेल बसिसकेको भन्दै रिहा गर्न आदेश दिएको हो।
उक्त मुद्दामा दोषी ठहरिएका सातजनामध्ये उहाँ एक हुनुहुन्थ्यो।
पछिल्ला वर्षहरूमा तमिलनाडु राज्यले पेरारीभलन तथा अन्य दोषीहरूलाई रिहा गर्न अनुरोध गर्दै आएको थियो।
सन् २००० मा उक्त राज्यका गभर्नरले एकजना दोषी महिला नलिनीको मृत्युदण्डलाई जेल सजायमा परिणत गरिदिएका थिए।
त्यस्तै सन् २०१४ मा सर्वोच्च अदालतले क्षमादानको निवेदनमा भएको ११ वर्षको ढिलाइलाई कारण देखाउँदै अन्य सबैको मृत्युदण्डलाई पनि जेल सजायमा परिणत गरिदिएको थियो।


















