Prakash Adhikari May 18, 2022

 

काठमाडौ, ५ जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए)मा उडान अवतरण गर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सरकारले एक वर्षसम्म सुविधै सुविधा दिने भएको छ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको उक्त प्रस्ताव पर्यटन मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट पारित गरेको हो।

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा थाल्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ल्याण्डिङ, पार्किङ, सेक्युरिटी, उड्डयन सहायता सेवा लगायतमा एक वर्षसम्म सहुलियत दिने प्रस्ताव मन्त्रालयमा पठाएको थियो। ती सुविधाहरु १४ जेठबाट कार्यान्वयनमा आउने प्राधिकरणले जानकारी दिएको छ।

वायुसेवा कम्पनीहरुले आफ्नो कार्यालय राख्नका लागि लिएको क्षेत्रका लागि भने भाडा तिर्नुपर्ने प्राधिकरणले जनाएको छ।

गत चैत ३० मा बसेको मन्त्री परिषदको बैठकले प्राधिकरणको नयाँ विमानस्थल सेवा शुल्क नियमावली स्वीकृत गरेको थियो। सोही नियमावलीअनुसार प्राधिकरणले हाल लिँदै आएको सेवा शुल्कमा जीआईएको हकमा एक वर्षका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सबै छुट दिइएको छ ।

यसबाट वायुसेवा कम्पनीको एउटै उडानबाट सवा दुई लाख रुपैयाँसम्म जोगिने छ ।

ल्याण्डिङ , नेभिगेशन सेक्युरिटी र पार्किङ शुल्क समेत गर्दा ए३३० सेरिजको वा १ लाख ८१ हजार किलो क्षमताका जहाजले हरेक उडानवापत तिर्नुपर्ने कुल १८३५ अमेरिकी डलर अर्थात् अहिलेको प्रचलित विनिमय दरअनुसार दुई लाख २५ हजार रुपैयाँहाराहारी सम्मको छुट पाउनेछन्।

कुन कुन वायुसेवा तयार ?

जेठ २ बाट जजिराले उडान संचालन सुरु गरिसकेको यो विमानस्थलमा फ्लाइ दुबई, एयर अरेबिया, श्रीलंकन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले तत्काल व्यवसायिक उडानका लागि चासो देखाएका छन्।

कुवेतको जजिरा एअरवेजले हप्ताको तीन उडान गर्दैछ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले विभिन्न देशका वायुसेवाहरूले उडानका लागि चासो देखाएको र आगामी दशैँसम्ममा सो विमानस्थलबाट दैनिक रूपमा दशदेखि १५ वटा उडान हुने अपेक्षा आफूहरूले राखेको बताउनुभएको छ।

उहाँले नेपालका नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र बुद्ध एअरलाइन्सले यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहेको बताउनुभयो ।

एअर अरेबिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डको स्माइल, ओमानको सलाम एअर लगायतका विभिन्न देशका एअरलाइन्सहरूको संस्थाले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न वार्ता गरिसकेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले धेरै कम्पनीहरूले चासो राखेर सोधखोज गरेपनि उडान र अवतरणको लिखित प्रस्ताव हालसम्म अरुले पठाएका छैनन्।

एशियाली विकास ब्याङ्कको ऋण एवं ओपेक फन्ड र नेपाल सरकार सहितको लगानीमा करिब साढे ९ अर्ब रुपियाँ खर्च गरेर उक्त विमानस्थल निर्माण गरिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार उद्घाटन गर्नुभएको उक्त विमानस्थलको निर्माणको जिम्मेवारी एउटा चिनियाँ कम्पनीले पाएको थियो।

मूल रूपमा खाडी क्षेत्रमा कार्यरत कामदार र धार्मिक पर्यटन अन्तर्गत लुम्बिनीको भ्रमण गर्न इच्छुक बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्ने लक्ष्य उक्त विमानस्थलले लिएको बताइन्छ।

चासो देखाउने विभिन्न वायुसेवा कम्पनीमध्ये साउदी अरेबियाको एअर अरेबिया पनि एक हो जसको तयारी अरू एअरलाइन्स भन्दा अलिकति अघि बढिसकेको पाइएको अधिकारीहरू बताउँछन्।

नयाँ हवाई मार्ग र भारतसंगको अपेक्षा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ गते बुद्धजयन्तीको दिन लुम्बिनी भ्रमण गर्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उहाँको प्राथमिकतामा परेन।

उहाँ कुसीनगरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर त्यहाँबाट सोझै बुद्ध जन्मस्थान लुम्बिनी आउनुभयो।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीमा नेपालका वायुसेवाहरूलाई महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो।

भारतीय प्रधानमन्त्रीले यो विषय आफ्ना देशका सम्बन्धित निकायले हेर्ने बताएको नेपाली पक्षले जनाएपनि मोदीको भ्रमणपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा हवाई रुटको चर्चा गरिएको छैन।

अन्तर्राष्ट्रिय उडानका लागि नेपालले हाल सिमराहुँदै भारतले उपलब्ध गराएको एकमात्र हवाई प्रवेश मार्गको प्रयोग गर्दै आएको छ।

नयाँ मार्ग प्राप्त भए भारतीय आकाशहुँदै सीधै अन्तर्राष्ट्रिय वायुसेवाहरूले भैरहवामा अवतरण गर्नसक्ने र त्यसले हवाई यात्रामा लाग्ने समय र लागत दुवै कम गर्ने विज्ञहरू बताउँछन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीबाट १९ किलोमिटरको दूरीमा रहेको छ।

उक्त विमानस्थलको निर्माणमा सघाएको एसियाली विकास ब्याङ्कका अनुसार उक्त विमानस्थलमा वाइड बडी विमानहरूले अवतरण गर्न सक्छन्।

१५ हजार १ सय ६९ वर्ग मिटरको टर्मिनल भवन र ३ हजार मिटरको नयाँ धावनमार्ग रहेको उक्त विमानस्थलमा अवतरणमा सघाउने अत्याधुनिक प्रणाली पनि जडान गरिएको छ।

त्यो नेपालको हकमा पहिलो भएको र त्यसले कम उज्यालोमा पनि विमानहरूलाई अवतरण गर्न सहयोग गर्ने एशियाली विकास ब्याङ्कले बताएको छ।(स्रोतःबीबीसी)

Share Now

Leave a comment.