काठमाडौं, १० जेठ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका ७ सय ३५ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
देशभरका ७ सय ५३ मध्ये ७ सय ३५ं स्थानीय तहको अन्तिम नतिजा घोषणा भइसकेको छ ।
हालसम्म ७ सय ३५ स्थानीय तहको नतिजा आउँदा काँग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेसले ३ सय २२ पालिकाको प्रमुख पद जितेको छ भने मतगणना जारी रहेका पालिकामध्ये अझै ४ मा अग्रता कायम गरेको छ ।
नेपाली कांग्रेसले २ सय ९६ पालिकामा उपप्रमुख / उपाध्यक्ष जितेको छ । मतगणना भैरहेका मध्ये ५ पालिकामा कांग्रेसका उम्मेद्वारहरु अग्रस्थानमा देखिएका छन् ।
स्थानीय तहको निर्वाचन २०७९मा एमाले दोस्रो पार्टी बनेको छ । एमालेले ७७ नगरप्रमुख तथा १ सय २३गाउँपालिका अध्यक्ष जितेको छ । मतगणना भैरहेका पालिकामध्ये एमालेले अझै पनि ५ प्रमुख पदमा अग्रता कायमै बनाएको छ ।
त्यस्तै एमालेले २ सय ३० उपप्रमुख पद जितिसकेको छ भने मतगणना जारी रहेका पालिकामध्ये ९ मा अग्रता कायम राखेको छ ।
यो निर्वाचनमा तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले मतपरिणाम घोषित भैसकेका पालिकामध्ये १ सय २० पालिका जितिसकेको छ । उसले २४ नगर प्रमुख र ९६ गाउँपालिका अध्यक्ष पद जितेको हो । नेकपा माओवादी मतगणना जारी रहेको भरतपुर महानगरपलिकासहित २ पालिकामा अग्रस्थानमा रहेको छ ।
माओवादीले १ सय २६ पालिकाको उपप्रमुख। उपाध्यक्ष जितिसकेको छ ।
जनता समाजवादी पार्टी चौथो स्थानमा आएको छ । उसले मतगणना भैसकेका मध्ये २९ पालिकाको प्रमुख जितिसकेको छ भने गणना भैरहेका ३ पालिकामा अग्रता कायम गरेको छ । सो पार्टीले ३० पालिकामा उपप्रमुख / उपाध्यक्ष जितेको छ ।
स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी पाँचौँ ठूलो दल बनेको छ । यो पाटीले १८ पालिकाको प्रमुख जितिसकेको छ भने पोखरा उपमहानगरपालिकामा अग्रता कायम गरी बिजयउन्मुख बनेको छ ।
सो पार्टीले २३ उपप्रमुख/उपाध्यक्ष जितिसकेको छ भने मतगणना जारी रहेको स्थानमध्ये १ मा अग्रता कायम गरेको छ ।
घोषित परिणाम मध्ये छैठौं स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ । उसले १६ पालिकामा प्रमुख /अध्यक्ष पद जितेको छ भने १२ उपप्रमुख । उपाध्यक्ष जितेको छ ।
अन्य साना दल र स्वतन्त्रले ३० प्रमुख /अध्यक्ष पद जितेका छन भने काठमाडौं महानगरपालिकामा अग्रता लिएका छन् ।
अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले १८ पालिकाका उपप्रमुख। उपाध्यक्ष पद जितिसकेका छन् ।
बुढीगंगा र त्रियुगामा अन्योल यथावत
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका केन्द्रीय नेताहरुको उपस्थितिमा बाजुराको बुढीगंगा नगरपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुमाथि आक्रमण गरी मतदान केन्द्रबाट लखेटेर, बन्धक बनाएपछि बुथ कब्जा गरेर एकतर्फी फर्जिमत हालेर राजिनामा दिइसकेका मतदान अधिकृतलाई मतपेटिका बुझ्न लगाएको भन्दै नेपाली कांग्रेसले ती वडाहरुमा पुनः मतदानका माग गरेको छ । त्यहाँ मतगणना हुन सकेको छैन ।
यस्तै त्रियुगामा नगरपालिकाको वडा नम्बर १२ को एक मतदान केन्द्रमा पुन मतदान गर्ने भनिएपनि त्यहाँ मतदानको मिति तोक्न नसकिएपछि अझैपनि मतगणना सुरु हुन नसकेको हो । वडा नम्बर १२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रको चुनाव वैशाख ३० गते पुनः मतदान हुने भन्दै स्थगित गरिएको थियो ।
वर्षात र असहज परिस्थितिका कारण पुनः मतदान गर्ने भन्दै सूचना टाँस गरिएपनि नयाँ निर्णय आउन नसकेको हो । बरु यो विषय अहिले अदालतमा पुगेको छ । यो विवादमा उच्च अदालत विराटनगरले विपक्षीसँग लिखित जवाफ मागेको छ भने अन्तरिम आदेशका लागि जेठ १६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । यहीँको विवादले नगरपालिकाभरीकै मतगणना हुन नसकेको हो ।
यसबाहेक बाँकी १६ स्थानीय तहको नतिजा भने अन्तिम चरणमा पुगेको छ । पोखरा र विराटनगर पालिकामा सत्ता गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित भइसकेपनि अझै केही मत गन्न बाँकी रहेकाले विजय घोषणा गर्न बाँकी छ । यस्तै ललितपुरमा पनि सत्ता गठबन्धनका उम्मेदवार जित नजिक पुग्दा अन्य स्थानीय तहको मतगणना पनि अन्तिमतिर पुगेको छ ।
हालसम्म मतगणनाको अन्तिम परिणाम आउन बाँकी स्थानीय तहको सूची
१. बुढीगंगा नगरपालिका, बाजुरा (गणना सुरु नभएको)
२.तुल्सीपुर उपमहानगरपालिका, दाङ (मतगणना जारी)
३. पोखरा महानगरपालिका, कास्की (मतगणना जारी)
४. महाराजगन्ज नगरपालिका, कपिलवस्तु (मतगणना जारी)
५. तिलोत्तमा नगरपालिका, रुपन्देही (मतगणना जारी)
६. पचरौता नगरपालिका, बारा (मतगणना जारी)
७. भरतपुर महानगरपालिका, चितवन (गणना अन्तिम चरणमा, माओवादीको जित सुनिश्चित)
८. काठमाडौं महानगरपालिका, काठमाडौं (मतगणना जारी)
९. ललितपुर महानगरपालिका, ललितपुर (मतगणना जारी, काँग्रेस जित नजिक)
१०. वीरगन्ज महानगरपालिका, पर्सा (मतगणना जारी, जसपाको जित सुनिश्चित)
११. त्रियुगा नगरपालिका, उदयपुर (विवादका कारण मतगणना रोकिएको)
१२. कटारी नगरपालिका, उदयपुर (मतगणना जारी)
१३. गौरीगंज गाउँपालिका, झापा (मतगणना जारी)
१४. मेचीनगर नगरपालिका, झापा (मतगणना जारी)
१५. गोलबजार नगरपालिका, सिरहा (मतगणना जारी)
१६. गढीमाई नगरपालिका, रौतहट (मतगणना जारी)
१७. फतुवा विजयपुर नगरपालिका, रौतहट (मतगणना जारी)
१८. बौधीमाई नगरपालिका, रौतहट (मतगणना जारी)


















