काठमाडौं, १० जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिड. शेर्पाले संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सोमबार तिनकुनेस्थित रोएल ब्यांकेटमा एक कार्यक्रमका बीच कर्मा छिरिङले प्यानसहित पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
‘नेपाली फुटबलको संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यावसायिकता हाम्रो अभियान’ भन्ने नारासहित कर्माले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।
कर्मा छिरिङ शेर्पाको प्यानमा वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार), उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, उपाध्यक्षमा उपेन्द्रमान सिंह रहनुभएको छ ।
यस्तै, सदस्यहरूमा फ्रेण्ड्स क्लबका अध्यक्ष दिपक थापा, सिराहका प्रविन यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका पूर्वअध्यक्ष रामराजा गुरुङ, मकवानपुरका टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर, जुम्लाका भरत बुढथापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार, खुमलटार मणिराज विष्ट, टोखा क्लबका मनिष जोशी रहनुभएको छ ।
पंकज नेम्बाड. कर्मासंग भिड्दै
अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आगामी निर्वाचनमा अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गर्नुभएको छ ।
उहाँले शुक्रबार सातदोवाटोस्थित एन्फा मुख्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
उहाँको प्रस्तावकमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले र समर्थकमा ए डिभिजन क्लब जावलाखेल युथका अध्यक्ष महेन्द्र क्षेत्री रहनुभएको छ ।
एन्फाको २१औं चुनावी साधारणसभा असार ६ गते राजधानीमा हुँदैछ । जसमा २१ जनाको कार्यसमितिका लागि निर्वाचन हुँदैछ । यसअघि १७ जनाको कार्यसमिति रहने गरेको थियो । तर १९औं साधारण सभाले निर्वाचित कार्यसमिति २१ जना पुर्याउने निर्णय गरेको थियो । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ जना सदस्य रहनेछन् । सदस्यमा दुई महिला अनिवार्य गरिएको छ ।
यसअघि चार जना उपाध्यक्षबाट वरिष्ठ छानिने प्रावधान रहेपनि अब भने वरिष्ठ उपाध्यक्षको लागि पनि निर्वाचन हुनेछ । महासचिव र कोषाध्यक्ष भने पछि मनोनित गरिनेछ ।
नेम्वाङको टिमबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
एन्फाको चुनावी साधारसणसभाका लागि जेठ ६ देखि १२ गतेसम्मको समय तोकिएको छ ।
चार वर्षअघि ‘चेन्ज एन्फा’ को चुनावी नारासहित कर्मा र पंकज एकै प्यानलबाट निर्वाचन लड्नुभएको थियो । चेन्ज एन्फाको नारामा लामो समयदेखि सहकार्य गरेका उनीहरुकै प्रयासमा एन्फाबाट गणेश थापाको २२ वर्षे कार्यकाल अन्त्य भएको थियो ।
एन्फा निर्वाचनमा कूल ८७ मतदाता रहनेछन् । जसमा ४५ जिल्ला, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ क्लब, सी डिभिजनका ९ क्लब, एन्फा प्रेसिडेन्ट कपको शीर्ष चारमा रहदैराष्ट्रिय लिगमा छनोट भएका चार क्लब र एन्फा अन्तर्गत रहेका खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ छन् ।
४५ जिल्लामध्ये प्रदेश १ बाट १० जिल्ला, मधेश प्रदेशबाट ८, बागमती प्रदेशबाट ११, गण्डकी र लुम्बिनी प्रदेशबाट ६–६ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जिल्लाको मताधिकार हुनेछ ।
प्रदेश १ बाट १० जिल्ला समितिका तर्फबाट यसअघि नै पंकज नेम्बाङलाई अध्यक्षमा समर्थन गर्ने घोषणा आइसकेको छ ।
राजीव पौड्यालको पनि उम्मेदवारी
एन्फाको आसन्न निर्वाचनका लागि राजीव राज पौड्यालले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
ए डिभिजन क्लब फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीवले सोमबार पत्रकार सम्मेलन गरी सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्नुभयो ।
उहाँले मंगलबार मनोनयन दर्ता गर्ने बताउनुभएको छ ।
पौड्यालले उम्मेदवारी घोषणा गर्दै एन्फामा लामो समयदेखि उस्तै काम भइरहेको र मुख्य कुरा सुशासन हुनुपर्ने बताउनुभएको छ ।
उहाँले सुशासन, ग्रासरुट, युवा तथा महिला फुटबल, खेल पूर्वाधार र क्षमता निर्माण, प्रतियोगिता र राष्ट्रिय टिम तथा स्टेकहोल्डर गरी पाँच मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
पौड्यालले सन् २०२४ सम्म महिला र पुरुष फुटबल टिमलाई दक्षिण एसियाको उत्कृष्ट टोली बनाउने लक्ष्य पेश गर्नुभएको छ ।
एन्फाको २१औं चुनावी साधारण सभा आषाढ ६ गते हुनेछ


















