Prakash Adhikari June 14, 2022

काठमाडौं, ३० जेठ। स्वीजरल्याण्डको जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी उद्योग तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल र बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ।

भारत र बंगलादेशका मन्त्रीसँग सोमबार भएको भेटमा बहुपक्षीय व्यापार, त्यसमा हाल सामना गर्नु परेका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सहजीकरण, वैदेशिक लगानी, ओैद्योगिक पूर्वाधार निर्माणलगायत विविध पक्षमा छलफल भएको प्रतिनिधिमण्डलमा सहभागी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मन्त्री बडूले कोरोना महामारीबाट भएको क्षति, सम्भावित खाद्य संकटको समाधान, कम विकसित मुलुकहरुको स्वास्थ्य प्रणालीको सुधार, प्रतिस्पर्धामा आधारित निर्यात प्रणालीमा विकसित मुलुकहरुबाट लिन सकिने लाभका विषयमा आवश्यक सहकार्य गरि अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन र लगानीको सुरक्षाका विषयमा सरकार प्रतिबद्ध रहेकोबारे आफ्नो धारणा राख्दै मन्त्रीले वस्तु तथा सेवाको विस्तार र लगानीका नयाँ सम्भावनाका क्षेत्रमा लगानी गरी पारस्परिक लाभ उठाउन सकिने धारणा राख्नुभयो ।

यसअघि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री बडूले डब्लूटीओका सबै सदस्य राष्ट्रहरुसँग नियममा आधारित, निष्पक्ष, पारदर्शी सिद्धान्त र सम्भावित बहुपक्षीय व्यापार प्रणाली अवलम्बन गर्दै समृद्धि हासिल गर्न डब्लूटीओलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।

उहाँले ईकमर्शको प्रयोग र क्षमता वृद्धि, डिजिटल डिभाइडलाई कम गर्न पहल गर्ने र उत्पादन क्षमता अभिवृद्धि गर्ने कुरामा पनि जोड दिनुभयो ।

 

Share Now

Leave a comment.