Prakash Adhikari July 20, 2022

काठमाडौँ, ४ श्रावण । नेपाल आयल निगमले सरकारसंग ऋण लिएर भारतीय आयल कर्पोरेसन्स (आईओसी)को १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम , सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ ।

सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो ।

अब निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

‘आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । बिहीबार १६ अर्ब ८० करोड बुझाएका छौं,’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भन्नुभयो, ‘अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।’

निगमले सरकारसँगै ऋण लिएर आईओसीलाई बक्यौता बुझाएकोले निगमको ऋणको दायित्व घटेको छैन, सरकारतिर बढ्को र आईओसीतिर घटेको मात्र हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा निगमलाई केही राहत मिले पनि पुरानो बक्यौताका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन ।

आईओसीले  केहि दिनअघि मात्रै पठाएको मूल्यअनुसार प्रतिलिटर पेट्रोल १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

तर सरकारले कर समायोजन नगरिदिँदा निगमले मूल्य घटाउन सकेन र सर्वसाधारणले घटेको मूल्यमा इन्धन पाउन सकेनन् ।

आईओसीबाट मूल्य घटेर आएपनि बढ्दो ऋणका कारण मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।

 

Share Now

Leave a comment.