Prakash Adhikari March 19, 2018

काठमाडौं, ५ चैत्र । आईसीसी विश्वकप छनौट प्रतियोगितामा ऐतिहासिक एकदिवसीय मान्यता पाएको नेपाली राष्ट्रिय क्रिकेट टीम आज साँझ नेपाल आईपुग्ने भएको छ ।

हिजो साँझ जिम्बाबेबाट प्रस्थान गरेको नेपाली टीमा आज बिहान यूएई आईपुग्दैछ । नेपाली टिम सोमबार बेलुका ५ः ५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी नेपाली टीमका व्यवस्थापक रमन शिवाकोटीले दिएका छन्।

विश्वकप छनौट अन्तर्गत प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपालले हंगकंग र पपुवा न्यु गिनीलाई पछि पार्दै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।

प्रतियोगितामा समूह चरणको खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग पराजित भएको र रनरेट कम रहेकोले सुपर सिक्स पुग्न नेपाली टीम असफल भएको थियो । नेपालले समूह चरणमा हंगकंगलाई मात्र जितेको थियो ।

यस अघि सन् २०१४ को टि(२० बिश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि(२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो।

एकदिवसीय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक हो।

सन् १९९६ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ बर्ष पछि नेपाली क्रिकेट टीमले अर्को ठुलो उपलब्धि हासिल गरेको हो। एकदिवसीय मान्यतासंगै नेपालले स्वतः टि(२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता समेत पाउनेछ।

२०१५ देखि १७ सम्म भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल सातौँ स्थानमा रहेपछि डिभिजन(२ मा घटुवा भएको थियो।

फेब्रुअरीमा नामिबियामा सम्पन्न डिभिजन(२ को उपविजेताको रुपमा नेपाल बिश्वकप छनौट खेल्न छानिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकप छनौट प्रतियोगिताको उत्कृष्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउने घोषणा गरेको थियो। जिम्बाबेमा जारि प्रतियोगिताको सुपर सिक्स चरण प्रवेश गर्दै स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाउने निश्चित भैसकेको थियो। बाँकि एउटा राष्ट्रको लागि सुपर सिक्स पुग्न असफल नेपाल, पपुवा न्यु गिनी र हंगकंग बीच प्रतिस्पर्धामा नेपाललाई भाग्यले साथ दियो ।

पुपुवा न्यु गिनीलाई नेपालले पराजित गर्यो भने हंगकंगलाई नेदरल्याण्ड्सले । नेदरल्याण्ड्सले एक दिवसीय राष्ट्रको मान्यता पाइसकेकोले उसंग सातौं स्थानको लागि भएको प्रतियोगितामा नेपाल पराजित हुँदा पनि नेपालको अन्तराष्ट्रिय मान्यता सुरक्षित हुन गयो ।

एकदिवसीय मान्यता पाएको नेपाली टीमलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले दिने बजेट ठूलो हुनेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

निकै कम अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेभारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेष्ट राष्ट्रबीच प्रतिस्पर्धा हुने एसिया कप जस्तो ठूलो प्रतियोगितामा समेत नेपालको सहभागिता जनाउन पाउछ ।

यस्तै आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ। नेपाली खेलाडीहरु विश्व क्रिकेटका ख्यातिप्राप्त क्रिकेटरहरुसंगै वरियतामा सामेल हुन पाउनेछन्।

नेपाली खेलाडीले यो स्तरमा बनाएको रेकर्ड विश्व रेकर्डमा गनिनेछ। नेपालले टि(२० अन्तर्राष्ट्रियको मान्यता पाउदा सोमपाल कामिले दशौं नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा धेरै रन बनाउने बिश्वरेकर्ड बनाएका थिए। अब नेपाली क्रिकेट टीम र नेपाली खेलाडीले अर्को एकदिवसीय राष्ट्रसंग बनाएको रेकर्ड विश्वस्तरमा गणना हुनेछ।

विश्वका ठूला लिगहरुमा नेपाली खेलाडीहरुको माग समेत बढ्ने छ ।

एकदिवसीय मान्यता प्राप्त राष्ट्रहरुले एकअर्कासंग मैत्रीपूर्ण सिरिज खेल्न सक्छन्। आईसीसीले दिने बजेट धेरै हुनाले सिरिज खेल्न विदेश जान र नेपालले पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्नेछ ।

Share Now

Leave a comment.