Prakash Adhikari August 24, 2022

काठमाडौं, ८ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयकको आड लिएर पुनः सक्रिय राजनीतिमा फर्कन लाग्नुभएको संकेत देखिएको छ ।

संंघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक १५ बूँदे सुझाव सहित संसद सचिवालयमा फिर्ता पठाउनुभएकी राष्ट्रपति प्रतिनिधिसभाले कुनै संशोधन बिना नै विधेयक पारित गरेपछि राजिनामा दिने मुडमा पुग्नुभएको बताइन्छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको भावि अध्यक्ष र कुनै दिन देशको प्रधानमन्त्री बन्ने आँकलन गर्ने राजनीतिक पण्डितहरुको कमी पनि देशमा नभएको होइन । उनीहरु एमाले अध्यक्ष के.पी. शर्मा ओलीले एमालेको नेतृत्व वर्तमान राष्ट्रपति भण्डारीको हातमा थमाउने उद्देश्य अनुरुप नै २०७७ मंसिर र २०७८ जेठमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको र राष्ट्रपतिले आँखा चिम्लेर तत्कालै कार्यान्वयन गर्नुभएको दावी गर्दछन् ।

उनीहरुका अनुसार ती चुनाव भएका भएपनि ओलीले एमालेबाट माधव नेपाल पक्षलाई पेल्नेसक्नेजति पेल्नुहुन्थ्यो । राजनीतिक मैदानमा टाउको उठाउनै नसक्ने गरी पेल्नुहुन्थ्यो । माधव नेपाल किनारा लागेपछि विद्या भण्डारीलाई नेतृत्व सुम्पेर आफू सक्रिय राजनीतिबाट निवृत हुने उहाँको चाहना थियो ।

यो राजनीतिक कोर्श उहाँको आफ्नै थियो वा अरु कसैको डिजाइन थियो एकिन भन्न सकिने अवस्था छैन । तर राजनीतिक विश्लेषकहरु भने राष्ट्रप्रमुख रहनुभएकी भण्डारी एमालेको नेतृत्व र सरकार प्रमुखका रुपमा आन्तरिक तथा बाह्य शक्तिकेन्द्रहरुका लागि पनि अनुकूल हुने आँकलन गरिरहेका छन् ।

सुरक्षाकर्मीलाई धन्यवादकोे अर्थ

बुधबार राष्ट्रपति भण्डारीले आफनो कार्यालय र निवाससहितको शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर भेट गर्नुभएको छ ।

भेटमा शीतलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी रहनुभएको बताइन्छ । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।

राष्ट्रिय अनुसन्धानमा विभागको एउटा टोली पनि राष्ट्रपति कार्यालयमा खटिन्छ भने बाहिरी सुरक्षामा नेपाल प्रहरीले एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सुरक्षामा टोली खटाउने गर्छ ।

सुरक्षाकर्मीहरुसंगको भेटमा आजसम्म सुरक्षा दिएको सहयोग गरेकोमा ‘धन्यवाद ज्ञापन गरिएकोले राष्ट्रपति भण्डारी पदनिवृत्त हुन लाग्नुभएको अडकल गरिएको छ । सामान्यतः धन्यवाद काम सकिएपछि दिइन्छ । यसको अर्थ अब राष्ट्रपति पदत्यागको तयारी गर्दै हुनुहुन्छ । यद्यपि उहाँको कार्यकाल सकिन अझै ६ महिना समय बाँकी छ ।

प्रधानमन्त्रीले पनि संकेत पाउनुभयो

राष्ट्रपतिले राजिनामा दिने हल्ला नागरिकता विधेयकसंगै सतहमा आएको हो । सत्तारुढ गठबन्धनका कारण चुनावी मैदानमा एक्लिदै गएको एमाले नागरिकता विधेयकलाई राष्ट्रियतासंग जोडेर राजनीति गर्ने दाऊ खोजिरहेको थियो ।

एमालेकै आग्रहमा राष्ट्रपति भण्डारीले पहिलो पटक विधेयक प्रमाणीकरण नगरी सुझावसहित फिर्ता पठाउनुभएको हो ।

दोस्रोपटक जस्तातस्तै प्रमाणीकरणको आएपछि के गर्ने भन्ने धर्मसंकट राष्ट्रपतिका सामु थियो ।

उहाँले यो संकटलाई एमालेको चुनावी नारा बनाउने तयारीका साथ राजिनामाको विकल्प रोज्नुभयो ।

यद्यपि राष्ट्राध्यक्ष भैसकेको व्यक्ति सक्रिय राजनीतिमा फकिएर पार्टी प्रमुख र सरकार प्रमुख बन्ने अभ्यास भने त्यति राम्रो हौइन ।

प्रधानमन्त्री देउवाले मंगलबार आफ्नो दलका नेताहरुलाई यसका बारेमा मंगलबार संकेत गर्नुभएके थियो । मंगलबार सत्तारुढ गठबन्धनका सीटबाँडफाँट कार्य दलको बैठकमा आएका कांग्रेस नेताहरुलाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापालाई यसबारे जानकारी दिनुभएको थियो ।

उहाँले ‘राष्ट्रपति राजीनामा दिने मूडमै हुनुहुन्छ भन्ने आफुले बुझेको बताउनुभयो ।

 

Share Now

Leave a comment.