Prakash Adhikari March 21, 2018

 

रत्ननगर(चितवन), ७ चैत्र । नेपाली काँग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) को अध्यक्षमा गोपालप्रसाद विजयी भएका छन् । उनले अध्यक्षका प्रतिस्पर्धी राजेन्द्र बुढाथोकीलाई ३० मतले पराजित गरेका छन् ।

निर्वाचनमा पोखरेलले २ सय ८४ मत पाएका थिए भने बुढाथोकीले २ सय ५४ मत पाएका थिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अधिकारीले फराकिलो मतले सुजित कुमार केसीलाई पराजित गरेका छन् ।

चितवनको रत्ननगरमा भएको सातौँ महाधिवेशनमा अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भएका छन् ।
महासचिवमा सुवास कोइराला निर्विरोध भएका थिए । बुधबार बिहान सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ ।

पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको छ । तीनवर्षीय कार्यकालका लागि प्रत्येक प्रदेशबाट एकएक जना रहने गरी सात जना सचिवमा निर्वाचित भएका छन् ।

गत चैत ४ गतेदेखि चलेको महाधिवेशनमा देशभरका ५ सय ६९ प्रतिनिधिमध्ये ५ सय ४५ जना सहभागी थिए ।

कर्मचारीको निर्वाचनमा पनि संस्थापन विरोधी पक्ष हावी भएको दावी विजयी उम्मेदवारहरुले गरेका छन् ।

यसअघि भएको शिक्षक संघको चुनावमा पनि गैर संस्थापन पक्ष हावी भएको थियो ।

Share Now

Leave a comment.