Prakash Adhikari September 17, 2022

 

मंगलसेन(अछाम), १ असोज । अछाम जिल्लाो विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले दिनुभएको जानकारी अनुसार जिल्लाका विभिन्न भागमा गएको पहिरोमा परेर हालसम्म १७ जनाको ज्यान गएको र ६ जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर घाइते भएका केहीको मङ्गलसेनमा उपचार भइरहेको छ।

अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा अधिकांशको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

रिजालका अनुसार जिल्लाका तीनवटा स्थानीय तहका चार स्थानमा पहिरोका घटना भएको जानकारी आएको छ।

तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर ९ जना बेपत्ता भएकामा हालसम्म चार जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको रिजालले बताउनुभयो।

पहिरोले घर पुरिँदा कमलबजार नगरपालिकाको वडा नम्बर( ६ मा ७ जना र वडा नम्बर ८ मा ५ जनाको निधन भएको छ।

त्यस्तै पहिरोकै कारण ढकारी गाउँपालिकामा एउटा घर पुरिँदा एकजनाको निधन भएको छ।

विभिन्न स्थानमा हराइरहेका ६ जनाको खोजी कार्य जारी रहेको उनले बताए।

जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको बताइएको छ।

उद्धारमा कठिनाइ

गृह मन्त्रालको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धारमा कठिनाइ देखिएको छ।

अछाममा पहिरो

अछाममा पहिरो

“मोबाइलको टावर पनि नलाग्ने ठाउँ रहेछ त्यसले गर्दा सूचना आदानप्रदानमा पनि समस्या भएको छ”, उहाँले भन्नुभयो।

कोइरालाका अनुसार उक्त क्षेत्रमा तीनवटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ।

उहाँले भन्नुभयो, “हामीले सबै मातहतका निकायलाई अलर्ट भएर बस्न भनेका छौँ। घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने अवस्था रहेमा त्यसो पनि गर्न भनेर सदरमुकाममा नै हेलिकप्टर राख्ने व्यवस्था मिलाएका छौँ।”

जिल्ला प्रहरी कार्यलाय अछामका प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार पनि घटनास्थल टाढा भएकाले उद्धारमा कठिनाइ भएको छ।

“हामीले बेपत्ताको खोजी र घाइतेलाई अस्पताल पठाउने काम गरिरहेका छौँ। तर अलि टाढा भएकाले समस्या छ।”

अन्य भागमा पनि बाढीपहिरो

कैलालीको फाँटमा पसेको पानी

कैलालीको फाँटमा पसेको पानी

सुदूरपश्चिमका अन्य भागमा पनि बाढीपहिरो आएको अधिकारीहरूले बताएका छन्।

त्यसक्रममा भएको धनजनको क्षतिको विवरण आउने क्रम जारी रहेको सहसचिव कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा लगातार वर्षा भइरहेकाले उद्धारका लागि तयारी अवस्थामा बस्न हामीले सुरक्षा निकायलाई भनिसकेका छौँ।

हेलिकप्टरलाई पनि अलर्ट अवस्थामा राखेका छौँ।”

राससका अनुसार पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ।

कञ्चानपुरमा डुबान पीडितलाई सुरक्षित स्थलमा सार्दै सुरक्षाकर्मी

कञ्चानपुरमा डुबान पीडितलाई सुरक्षित स्थलमा सार्दै सुरक्षाकर्मी

वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको राससले जनाएको हो।

त्यस्तै कञ्चनपुर जिल्लाका विभिन्न भागमा बाढी र डुबान भएको विवरण आएको अधिकारीहरूले बताएका छन्।

ती क्षेत्रमा केही मानिसहरू बेपत्ता भएको पनि विवरण आएका छन्।

बेपत्ताको खोजी र पीडितलाई सुरक्षित स्थानमा सार्नका लागि निर्देशन दिइसकिएको गृह मन्त्रालयका सहसचिव कोइरालाले बताउनुभयो।

गृहमन्त्रीको निर्देशन

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएको राससले जनाएको छ।

उहाँले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएको बताउनुभएको छ।

खाडले अछामका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएको राससले उल्लेख गरेको छ।

उनले उद्धार तथा बेपत्ताको खोजी एवम् पीडितलाई राहतका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको बताइएको छ।(स्रोत बीबीसी) ।

 

Share Now

Leave a comment.