काठमाडौं, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी, (नेकपा एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली टुुंग्याएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची पारित गरेको हो।
प्रचार विभागका सचिव गगन विष्टले दिनुभएको जानकारी अनुसार एमालेले संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि १ सय १० जना र प्रदेशसभाका लागि २ सय २० जनाको नाम छनोट गरेको छ।
सचिवालयबाट पारित भएको सूची आजै निर्वाचन आयोगमा बुझाइने कार्यक्रम रहेको छ ।
प्रचार विभागले आइतवार प्रकाशन गरेको विज्ञप्तिमा , प्रतिनिधिसभाका १ सय १० जनामा आदिवासीतर्फ ३२, खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष) थारु ७, दलित १५, (८ महिला र ७ पुरुष), मधेशीतर्फ १७, )९ महिला, ८ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुरुष) जम्मा महिला ५७ गरी १ सय १० जना छनोट गरेको उल्लेख छ ।
त्यसैगरी, प्रदेश नम्बर १ का लागि २० महिला र १७ जना पुरुषसहित ३७ को नाम टुंगिएको छ ।
त्यसैगरी, मधेस प्रदेशमा २३ महिला र २० पुरुष गरी ४३ को नामलाई अन्तिम रुप दिइएको छ। ।
बागमती प्रदेशमा २० पुरुष र २४ महिलासहित ४४ जनाको नाम चयन गरिएको छ।
गण्डकीको समानुपातिक सूचीमा ११ जना पुरुष र १३ जना महिला गरी २४ उम्मेदवारको नामलाई अन्तिम रुप दिइएको छ।
लुम्बिनी प्रदेशमा १५ जना पुरुष र २० जना महिला गरी ३५ जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ।
कर्णाली प्रदेशमा १० पुरुष र ११ महिला गरी १६ जना समेटिएको छ।
सुदूरपश्चिम प्रदेशका लागि १० पुरुष र ११ महिला गरेर २१ जनाको नामलाई अन्तिम रुप दिइएको छ।




















