काठमाडौं, ३ असोज । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्।

यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।
पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ।
हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ। महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ।
इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। बंगलादेशले भुटान पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
जित्ने दावी

महिला साफ च्याम्पियनसिपको फाइनल पुगेको बंगलादेश र नेपाल दुवैले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन्।
प्रतियोगिताअघिको प्रि-म्याच प्रेस कन्फ्रेन्समा आइतबार बोल्दै दुवै टिमका प्रशिक्षक तथा कप्तानले तयारी राम्रो भएकाले उपाधि उचाल्ने विश्वास व्यक्त गरेका हुन्।
नेपाली टिमका प्रशिक्षक कुमार थापाले नेपाली टिम कुनै पनि मूल्यमा उपाधि जित्नका लागि मैदानमा उत्रने बताए।
‘हामी उपाधिका लागि सबै अर्थमा तयार छौं, हामी मानसिक, मोटिभेसनल, फिजिकल र अनुभवका आधारमा पनि जित निकाल्न तयार छौं।’
उनले टिम अहिले अर्जुन दृष्टि राखेर उपाधिको तयारी गरिरहेको बताए।
उनले समर्थकको साथले उपाधि उचाल्ने दाबी गरे। थापाले भने‚ ‘समर्थकले हामीलाई ऊर्जा दिन्छन्‚ हामी उहाँहरूलाई उपाधि दिन्छौं।’ उनले समर्थकको साथ थप शक्तिका रुपमा रहेको बताए।
कप्तान एन्जिला तुम्बाम्पो सुब्बाले बोलेर भन्दा खेलेर प्रमाणित गर्ने बताइन्। उनले भनिन्‚ ‘हामी सक्छौं‚ हामी गर्छौं भन्ने नारा नै रहेको र हामी गरेर देखाउँछौं।’ उनले टिम वर्कले उपाधि जित्ने सपना पूरा गर्ने विश्वास ब्यक्त गरिन्।
बंगलादेशका प्रशिक्षक गोलम रोबानीले टिम राम्रो लयमा रहेको भन्दै नेपाललाई फाइनलमा हराएर उपाधि उचाल्ने बताए।
उनले भने‚ ‘हामी उपाधिका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका छौं। हामीले गरेको तयारी र प्रयासअनुसार नै फाइनलसम्मको यात्रा तय गरेका छौं। अब उपाधि पनि जित्छौं।’
बंगलादेशकी कप्तान सविना खातुनले टिमको राम्रो तयारीले जित निकाल्ने बताए। ‘हाम्रो अनुभव र युवाहरू समावेश टिमले अघिल्ला खेलहरूमा राम्रो नतिजा दिएको छ र फेरि पनि त्यस्तै नतिजा दोहोर्याउँछौं‚’ उनले भनिन्।


















