काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ।
सोमवार सैनिक मञ्च टुँडिखेलमा ८ औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो दाबी गर्नुभएको हो।
उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताउनुभयो। उहाँले सबैको समन्वयात्मक प्रयासबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।
देउवाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आगामी चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो।
उहाँले विकास र समृद्धिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि एवं नागरिकहरुलाई आग्रह गर्नुभयो।
संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियमहरु तर्जुमा भइ कार्यान्वयनमा आएको देउवाको दाबी छ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, का।मु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो।


















