Prakash Adhikari September 20, 2022

काठमाडौं, ४ असोज । घरेलु मैदानमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसंग पराजित भएसंगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापाले राजीनामा दिएका छन् भने तीन खेलाडीले सन्यास घोषणा गरेका छन् ।

दशरथ रंगशालामा बंगलादेश र नेपालबीचको खेल सकिएपछि पत्रकार सम्मेलन गर्दै प्रशिक्षक थापाले टिम छाडेको घोषणा गरेका थिए।

पाँचौपटक फाइनलमा पुगेको नेपाली टिम दोस्रोपटक फाइनलमा पुगेको बंगलादेशसँग ३–१ ले पराजित भएसँगै राजिनामाको,घोषणा गरेका प्रशिक्षक थापाले भने ‘जीत दिलाउन सकिन त्यसमा दुःखी छु।’

बंगलादेशसँगको हारपछि दर्शकसंग माफी माग्दै प्रशिक्षक थापाले खेलको स्तर नसुधारे आगामी दिन फाइनल पुग्न कठिन हुने बताए ।

उनले नेपाली टोलीको प्रर्दशनबाट आफू खुसी भएको पनि बताए ।

‘खेलाडीले सक्न प्रर्दशन गरेकै हो। नेपाललाई अब फाइनलमा पुग्न गाह्रो छ,’ उनले भने, ‘भारतभन्दा बंगलादेश बलियो देखिएको छ। यो कुरालाई स्वीकार गर्नुपर्छ। पाँचौँ पटक फाइनल पुग्दा पनि हामीले उपविजेतामा नै चित्त बुझाउनु पर्यो।’

‘आजदेखि यो टिम छाडे। हामीले भारतलाई हरायौ त्यसैले यो टिम राम्रो छ। यो लेभलभन्दा माथि जानका लागि धेरै मेहनत गर्न जरुरी छ।’ थापाले भनेका छन्।

खेलको सुरुदेखि नै लिड गर्न नसक्दा नेपाली खेलाडीको मनोबल कमजोर भएको उनले बताए।

‘हामीले लिड गर्न नसक्दा खेलाडीको मनोबल कमजोर भयो। चान्स पाए पनि सदुपयोग गर्न सकेनौँ। उनीहरुले सदुपयोग गरे,’ थापाले भने, ुतेस्रो गोल खाने बित्तिकै खेलमा फर्कन गाह्रो भयो।’ प्रशिक्षक थापाले भने, ‘गोलरक्षकलाई रिप्लेस गर्न पर्ने थियो सकेनौ। यो पार्ट अफ गेम हो अर्को वर्ष आउनुहुन्छ खेल्नुहुन्छ।’

खेलाडीको पनि सन्यास

घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको छैटौँ संस्करणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले सन्यास घोषणा गरेका छन्।

साफको फाइनलपछि राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईसँगै डिफेन्डर पुनम जर्घा मगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्।

तीनै जना खेलाडी घरेलु फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएका थिए ।

पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको खेलबाट राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी थिइन्। त्यसयता टोलीकी नियमित सदस्य रहेकी पुनमले यसअघि बगंलादेशसँग नै घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलका दौरान मुटुमा समस्या देखिएपछि १२ औँ खेलाडीको रुपमा मैदान प्रवेश गरेकी थिइन्।

एएफसी एशियन कप छनोटको तयारीका लागि नेपालले बगंलादेशसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो। तत्कालिन प्रशिक्षक ग्यारी फिलिप्सले पुनमलाई १२ औँ खेलाडीको रुपमा मैदान पठाएका थिए। तर मुटुको शल्यक्रिया पश्चात उनले महिला लिग मार्फत पुनरागमन गरेकी थिइन्।

त्यसपछि नेपालले खेलेको एएफसी एशियन कप छनोट गुमाएकी पुनमले यसै साफ च्याम्पियनमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेकी थिइन्।

रौतहटको महिला टोलीबाट खेल जिवन सुरु गरेकी पुनमले त्यसपछि आर्मीमा छनोट भइन्। त्यसको २ वर्षपछि नै राष्ट्रिय टोलीको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेपनि उनी घरेलु मैदानमा भने देखिने छन् ।

राष्ट्रिय टोलीकै अर्की सदस्य दीपा राईले सन्यास लिइन्। सन् २०१४ मा राष्ट्रिय टोलीमो डेब्यु गरेकी दीपा सन्यासपछि शान्ती सेनामा जानेछिन्।

अर्की मिडफिल्डिर इन्दिरा राइले सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। उनले राष्ट्रिय टिमबाट ५ खेल खेलेकी छिन्।

 

Share Now

Leave a comment.