काठमाडौं, ८ चैत्र । भारत विरोधी छवि बनाएर चुनावमा पार्टीलाई पहिलो स्थानमा पुर्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण भारतबाटै शुरु गर्ने भएका छन् ।
परराष्टमन्त्रालयको उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले यही चैत्र २३ गतेदेखि २५ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । तर दुवैतिरबाट औपचारिक घोषणा हुन भने बाँकी नै छ ।
स्रोतका अनुसार नेपाल र भारतका परराष्ट्र मन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् ।
निर्वाचनमा नेकपा एमालेले अधिक सीट दिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनबाट एमालेका अध्यक्ष रहेका ओलीलाई बधाई दिएका थिए भने त्यसको केही समयपछि भारतीय विदेश मन्त्री शुष्मा स्वराजलाई विशेष दुतका रुपमा नेपाल पठाएर औपचारिक रुपमा बधाई दिएका थिए । उनी प्रधानमन्त्री नियुक्त नहुँदै भारतले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा स्वागत गर्न आफू आतुर रहेको सन्देश दिंदै भारतभ्रमणको निम्तो पनि दिएको थियो ।
ओली प्रधानमन्त्री भैसकेपछि भारतका तर्फबाट आएको बधाई तथा शुभकामना सन्देशमा पनि भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्ता दिएका थिए । भारतले प्रधानमन्त्री ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि उपयुक्त हुने प्रस्ताव गरेपनि नेपालले भने एक दिन पहिला अर्थात चैत्र २३ देखी २५ गतेसम्म हुनेगरी जवाफ फर्काएपछि नेपालको अनुकूल हुने गरी तिथि मिति निर्धारण भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण राजकीय हुने बताएको छ ।
केही दिन पहिले गुपचुप भारत भ्रमण गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजोको व्यवस्था मिलाएको एमाले सूत्रको दावी छ ।