काठमाडौं, ८ चैत्र । उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिमाथि प्रश्न उठाई सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला हुने मिति फेरि सरेको छ ।
निर्णय सुनाउने मिति बिहीबारका लागि तोकिएकोमा न्यायाधीश ओमप्रकाश मिश्रका कारण मुद्दा सरेको हो ।
निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको रुची र चासो जोडिएको उक्त मुद्दा न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा थियो ।
सोही इजलासले निर्णय सुनाउनुपर्नेमा न्यायाधीश मिश्र न्यायपरिषद्को सदस्य समेत बनेपछि मुद्दा हेर्न नमिल्ने अवस्थामा पुगेको हो ।
मुद्दामा न्यायपरिषद्लाई समेत विपक्षी बनाइएको थियो । आफू सदस्य रहेको परिषद्विरुद्धको मुद्दा न्यायाधीश मिश्रले हेर्न नमिल्ने भएको हो ।
अब मुद्दा कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी र वरिष्ठतम् न्यायाधीश मिश्र बाहेकको इजलासमा पेस गर्नुपर्नेछ ।
न्यायाधीशहरु फेरिएका कारण फेरि सुरुदेखि नै मुद्दाको सुनुवाई गर्नुपर्ने भएको छ ।