Prakash Adhikari November 7, 2022

काठमाडौँ, २१ कात्तिक । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफा कमाएको छ ।

ऋण कम गर्न स्वचालित मूल्य प्रणालीमा नजाने अडानका कारण निगम नाफामा गएको हो ।

विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो ।

कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि (नोभेम्बर १ देखि १५ सम्म)मा घटेर १८ करोड रुपियाँमा पुग्ने अनुमान छ ।

गत अगस्ट १६ (साउन ३१ देखि असोज १५ गते) अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो ।

गत अक्टोबर १६ (असोज ३०)देखि इन्धनको मूल्य बढेर आएको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटरमा पाँच रुपियाँ ७६ पैसा, मट्टितेल प्रतिलिटरमा चार रुपियाँ एक पैसा, हवाई इन्धन चार रुपियाँ ७७ पैसा, पेट्रोल प्रतिलिटर ६१ पैसा बढेर आएको छ । ग्यासमा प्रतिसिलिन्डर ५८ रुपियाँ १० पैसा घटेर आएको निगमको जनाएको छ ।

निगमका अनुसार ग्यास प्रतिसिलिन्डरमा २२८ रुपियाँ ८४ पैसा र डिजेल प्रतिलिटरमा १२ रुपियाँ १४ पैसा घाटा छ । ग्यास र डिजेलबाहेक अन्य पेट्रोलियम पदार्थमा नाफा छ ।

पछिल्लो मूल्यसूची बढेर आए पनि निगम १५ दिनमा १८ करोड रुपियाँ नाफामा छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने जानकारी दिनुभयो ।

“अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आउँदा घटाउनुपर्ने हो, तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन सकिएन,” उपाध्यायले भन्नुभयो ।

सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपियाँ घटाएको मूल्य रिकभर नभएकाले घटाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

 

फोटो विवरण उपलब्ध छैन।

Share Now

Leave a comment.