Prakash Adhikari November 12, 2022

 

भरतपुर(चितवन), २६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, राष्ट्रिय एकता, शान्ति र सम्वृद्धिका लागि गठबन्धनको वहुमत सरकार जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने उहाँले बताउनुभयो ।

“हामी अहिलेको चुनाव जितेमा दुई–तीन वटा चुनावसम्म सहकार्य गरेर अगाडी वढ्छौ” उहाँले थप्नुभयो, “स्थायी शान्ति चाहिएको छ, सम्पन्न देश र जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न देश बनाइ रोजगारीको सिर्जना गर्नेछौं ।”

गणतन्त्रको स्थायित्व गर्ने दायित्व पनि गठवन्धन दलहरुकै काँधमा भएको प्रधानमन्त्री देउवाले बताउनुभयो । संसद विघटन गरेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले महाभूल गरेको उहाँले बताउनुभयो ।

दश वर्षअघि कारवाहीमा परेका कांग्रेसका तत्कालिन चितवन सभापति विकास कोइरालाको कारवाही फिर्ता गराउने उहाँले आश्वासन दिनुभयो ।
निर्वाचन सकिएसँगै कोइरालामाथिको कारवाही फिर्ता हुन्छ उहाँले भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई शान्ति र सम्वृद्धितर्फ लैजानुपर्ने धारणा राख्नुभयो । “यो पटक अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ हुदैछ । मलाई विश्वास छ । यो नेपाली जनता अग्रगमनका पक्षमा उभिने छन् ।”

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठले मुलुक अस्थिरतातर्फ लैजाने दृढताविरुद्धमा गठबन्धन भएकाले यसैका पक्षमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रष्मीराज नेपालीले राष्ट्रियताका पक्षमा उभिने उमेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

गुरुड. र सापकोटा परिवारमा समवेदना

यसैवीच प्रधानमन्त्री देउवाले आजै कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई समवेदना प्रकट गर्नुभयो ।

श्रीमती शिरमाया गुरुङको शोकमा रहनुभएका केन्द्रीय सदस्य गुरुङलाई प्रधानमन्त्री देउवाले चितवनस्थित घरमै पुगेर समवेदना प्रकट गर्नुभयो ।

विमानस्थलबाट चितवन झरेलगत्तै उहाँ गुरुङ निवास पुग्नुभएको थियो । त्यहाँ रहेको शोकपुस्तिकामा पनि उहाँले हस्ताक्षर गर्नुभयो । गुरुङ परिवारलाई समवेदना दिन प्रधानमन्त्रीसँगै माओवादी अध्यक्ष प्रचण्ड पनि पुग्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व। तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नुभएको छ । यही कात्तिक २३ गते निधन हुनुभएका उहाँको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा निवास पुग्नुभएको हो ।

blog

नेपाली कांग्रेसको राजनीतिमा स्व। सापकोटाले पुर्‍याउनुभएको योगदानप्रति आभार प्रकट गर्दै उहाँको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्द्धनका दृष्टिमा पनि अतुलनीय उहाँले सो पुस्तकमा लेख्नुभएको लेखमा चर्चा गर्नुभएको छ ।

सो अवसरमा कांग्रेसका नेता प्रा। डा। शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो ।

गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिनुभएका उहाँ नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिनुहुन्थ्यो । सापकोटा दम रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

 

Share Now

Leave a comment.