काठमाडौं, ३० कार्तिक। विकास बैंकहरुले ब्याज दर घटाउने निर्णय गरेका छन्। वाणिज्य बैंकहरुले भने यथावत नै राख्ने निर्णय गरेका छन्।
विकास बैंकहरुको छाता संगठन नेपाल बिकास बैंक संघले मंगलबार बैठक डाकेर निक्षेपको ब्याज दर ०.१५ प्रतिशतले घटाउने निर्णय गरेको हो ।
बिकास बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज हुँदै गएकाले ब्याज घटाएको जनाएका छन्। अब विकास बैंकहरुको साधारण मुद्दति निक्षेपको अधिकतम ब्याज १२.८५ प्रतिशत हुने छ। बचतको अधिकतम ९.८५ प्रतिशत हुने छ।
निक्षेपको ब्याज माथि हुँदा लागत बढेर ऋणको पनि बढ्छ। ब्याज महँगो भएको भन्दै व्यवसायीले आन्दोलन गरिरहँदा विकास बैंकले सांकेतिक रुपमा भएपनि घटाएको हो।
बाणिज्य बैंकहरुको यथावत
वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।
मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।
ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले ब्याजदर तत्काल घटाउन माग गरिरहेको छन् ।
निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको सङ्घका उपाध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो ।
सङ्घले ब्याजदर नबढाउने निर्णय गरेसँगै कात्तिक महिनामा लागू गरिएको ब्याजदर नै लागू हुनेछ । बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् ।
गत वर्षको चैतदेखि गत असोजसम्म मासिक पूर्ववत् ब्याजदरमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय गरिएको थियो ।
गत भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव शून्य तीन प्रतिशत ब्याजदर रहेको थियो।


















