काठमाडौं, ३० कार्तिक । चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीमा पर्नसक्ने भएको छ ।
उनी विदेशी नागरिक भएकोले उनको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।
मंगलबार उनीविरूद्ध आयोगमा उजुरी परेको आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिनुभयो। वाग्लेले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उक्त जानकारी दिनुभएको हो।
विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः रद्द भएकोमा नयाँ नागरिकता प्राप्त नगरी पुरानै नागरिकताको भरमा उम्मेदवारी परेकोले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। रवि विरूद्ध राजकुमार पाण्डेले उजुरी दिनुभएको हो।
लामिछाने सन् २००२ मा भिजिट भिसामा अमेरिका जानुभएको थियो । उहाँले नेपाली नागरिकता त्याग गर्ने प्रक्रिया पूरा नगरी अमेरिकी नागरिकता लिनुभयो। नेपाल फर्किँदा पनि उहाँसँग अमेरिकी नागरिकता छँदै थियो।
नागरिकताको विवाद बुझेपछि उहाँले आफ्नो पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाएको बताउनुभएको थियो। तर पासपोर्ट हराउनु वा कुनै कार्यालयमा बुझाउनुले नागरिकता त्याग गरेको मानिदैन । नागरिकता लिने र त्याग गर्ने आफ्नो प्रक्रिया हुन्छ ।
उहाँले नागरिकता त्याग प्रक्रिया पूरा गरेनगरेको भन्ने यकिन भइसकेको छैन।
अर्कातिर कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिइसकेपछि त्यो नेपाली नागरिकता स्वतः खारेज हुने उजुरीकर्ताहरूले बताएका छन्।
उनीहरूका अनुसार विदेशी नागरिकता लिएको व्यक्तिले नेपाल फर्केर विदेशी नागरिकता त्याग गरेपछि पुनः नयाँ नेपाली नागरिकता लिनुपर्छ।
चितवन २ का मतदाता यो पढेपछि रविको असली रुप देखिन्छ है ।https://t.co/ZiV7KhmPGh
— Prakash Adhikari (@Prakash82846939) November 15, 2022
खारेज भइसकेको पुरानो नेपाली नागरिकता मान्य नहुने उजुरीकर्ताको भनाइ छ।
उजुरी आएसँगै आयोगले कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ।
निर्वाचन अधिकृतले लामिछानेबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने आयोगले बताएको छ।


















