काठमाडौं, ३ कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदान गर्न मतदातालाई अपिल गर्नुभएको छ।
निर्वाचन आयोगबाट शनिवार सम्बोधन गर्दै उहाँले निर्वाचनमा भाग लिएर आफ्नो मताधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो।
उहाँले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो।
आइतवार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
अपिलमा के भन्नुभयो ?

उहाँले आचारसंहिता उल्लङ्घन रोक्न सूक्ष्म अनुगमनको काम अघि बढाइएको भन्दै आयोगले निगरानी र नियमन गरिरहेको बताउनुभयो।
चुनावमा कुनै पनि खालको धाँधली गर्ने वा गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक निर्देशन दिइएको उहाँको भनाइ छ।
प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचन प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला रहेकाले आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता प्रदान गर्ने हुँदा आआफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क मतदान गर्नुहुन निर्वाचन आयोग पुन सबैलाई अनुरोध गर्दछ।”
आयोगले मतदानको दिन अत्यावश्यक सेवाका लागि सञ्चालन हुने सवारी साधन र सञ्चारकर्मी, पर्यवेक्षक र अनुगमनकर्ताका सवारीसाधनलाई अनुमति लिन नपर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो।
नेपाल सरकारले आयोगको सिफारिसमा मङ्सिर ४ र ५ गतेलाई सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ।
निजी तथा गैरसरकारी क्षेत्रमा आबद्ध जनशक्ति चुनावमा भाग लिन सकुन् भन्नका लागि त्यस्तो गरिएको प्रमुख निर्वाचन आयुक्तको भनाई छ।

कति छन् मतदाता र मतदानस्थल
चुनाव पर्यवेक्षण गर्न भारत सहित दक्षिण एसियाका कतिपय देशका उच्च अधिकारी नेपाल आइपुगेका छन्।
आइतबार बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल, सलाई र लाइटर जस्ता वस्तुलाई निषेधित गरेको छ।
प्रतिनिधिसभा र सात वटा प्रदेशसभाका सदस्य चयनका लागि हुन लागेको चुनावमा ५ हजार ६ सय भन्दाबढी उम्मेदवार प्रतिस्पर्धामा छन्।
पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक मतदाताले चार वटा मतपत्रमा भोट खसाल्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
यस पटकको चुनावमा १० हजार ८ सय ९२ मतदान स्थलहरू राखिएका छन्।
मतदान व्यवस्थित बनाउन २२ हजार २ सय भन्दा बढी मतदान केन्द्र कायम गरिएको छ।


















