काठमाडौं, १७ मंसिर । नियमित तलब ख्वाउन पनि धौ धौ परेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई सुधार गर्न कम्मर कस्नुभएका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नै सहयोगीहरुले आर्थिक अनियमिततामा फसाउने अर्को ठूलो जालो बुनेका छन् । उहाँ त्यो जालोमा बेरिने लगभग निश्चित भएको छ ।
निगमको सगरमाथा जहाजमा रहेको इञ्जिन भी २५२७ ई ए ५ इञ्जिन क्रम संख्या १७५८५ (V2527E-A5 Engine Serial Number V17585 )को मर्मत संभारमा निगमको कन्टिन्युइड. एअरवर्थिनेश एण्ड म्यानेजमेण्ट (क्याम,CAM) विभागले पूर्ववत चल्दै आएको मूल्यांकन पद्धतिलाई नै फेरेर महंगो प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिई बीचको करोडौं रकमको मार्जिन खाने तारतम्य मिलाएको छ ।
निगमले ३ सेप्टेम्बर २०२२ मा जम्मा १२ दिनको समय दिएर इञ्जिन मर्मत संभारको टेण्डर निकालेको थियो । उक्त टेण्डरमा मर्मत संभारको प्रस्ताव राख्दा प्राविधिक पक्षका मानकलाई ३० प्रतिशत अंकभार र वित्तीय मानकलाई ७० प्रतिशत अंकभार दिने तारतम्य मिलाइएको थियो ।

निगमले गत जनवरीमा न्यारो बडी ३२०- २०० सिरिजको सगरमाथा जहाजमा लगाइएको र दोहामा अवतरण गरेर ट्याक्सी वे मा लैजादा बिग्रेको देखिएको जहाजको इञ्जिन मर्मतको टेण्डर गर्दा(गोप्य सिलबन्दी दरभाउ पत्र माग गर्दा) प्राविधिक पक्षलाई २० र वित्तिय प्रस्तावलाई ८० प्रतिशत अंकभार छुट्टयाएको थियो । यसो गर्दा गुणस्तरीय सेवा दिने र कमिशन नखाई,भ्रष्टाचार नगरी लागत मूल्यमा नै इञ्जिनको मर्मत संभार हुन जाने अवस्था हुन गयो । र छानिएको कम्पनीले आफ्नो वर्कसपमा इञ्जिन पुगेपछि तदारुकताका साथ मर्मत संभार सम्पन्न गरेको थियो ।
निगमले आफ्ना जहाजहरुको इञ्जिन तथा जहाजको बडीको मर्मत संभारका लागि पहिले योग्य कम्पनीहरुको सूची तयार गर्ने गर्दछ । विगतमा यस्तो योग्य कम्पनीहरुलाई निश्चित अवधिका लागि काम गर्न पहिले छनौट गरी जहाजको आकस्मिक वा नियमित मर्मत संभार गरिदै पनि आएको थियो । तर यस्तो प्रकृयामा जान थालिएको प्रयास कमिशनका गेममा विवादित भएपछि निगमले जहाज भूमिस्थ भएपछि पूर्वयोग्य कम्पनीहरुबीच मर्मतसंभारको टेण्डर (शिलबन्दी कोटेशन माग ) गरी इन्जिनको मर्मत संभार गर्दै आएको छ ।
निगमको क्याम विभागले प्राविधिक मूल्यांकनमा यस्तो भी २५००सेरिजका इञ्जिन मर्मतको प्राप्त सुविधा, जुलाई २०२२ सम्म ५०० वटा इञ्जिन मर्मत गरेको प्रमाण,ओरिजनल उपकरण उत्पादकले अनुमोदन गरेको पसल सुविधा,अरुलाई उपठेक्कामा काम दिने अवस्था, इञ्जिनको अवस्थाको प्रवृत्ति अनुगमन,उपकरणहरुको अल्टसोनिक परीक्षण सुविधा,जहाजहरु भूमिस्थ भएको अवस्थामा जहाजमा सेवा दिने सुविधा वा आकस्मिक मर्मत गर्न सक्ने अवस्था, वर्कसपमा नै मर्मत गर्न सकिने उपकरण वा लाइन रिप्लेसेवल युनिटको सूुची,एक्जस्ट ग्याँस तापक्रमको प्रत्याभूति,मर्मत भएको इञ्जिन जडान हुने नजिकको मिति, इञ्जिनमा फेरिने पार्टपूर्जा किन्न लाग्ने समय,मर्मतपछि इञ्जिनको वारेन्टी(साइकल र घण्टा तथा महिनामा) र अमेरिकाको फेडरल एभिएशन अथोरिटीको भाग २१ र युरोपियन युनियन एभिएशन सेफ्टिी एजेन्सीको भाग २१ को डिजाइन एप्रुभल भए नभएको भन्ने मानक तयार पारेको थियो ।
नेपाल वायुसेवा निगमले पहिले पूर्वयोग्य कम्पनीहरु चयन गर्दा नै अमेरिकाको फिडरल एभिएन अथोरिटी र यूरोपियन युनियनको एभिएसन सेफ्टी एजेन्सीको मान्यता प्राप्त साथै इञ्जिन र जहाजको बडी निर्माता कम्पनीहरुले मान्यता दिएका कम्पनीहरु चयन गरेको हुन्छ । निगमले एक इञ्जिन मर्मत गरेर सञ्चालनमा ल्याइसकेको कम्पनीको हातबाट ठेक्का फुत्काएर बढेको रकममा तर मार्नका लागि पहिले २० अंकभार दिइएको प्राविधिक पक्षलाई अहिले ३० दिइएको बताइन्छ ।

अनौठो कुरा के छ भने इजराइलको तेलअभिभमा भएको इञ्जिन मर्मत गर्न जर्मनीको लुफ्थान्सालाई चयन गरिएको छ । निगमले अघिल्लो इञ्जिन तेलअभिभमा नै मर्मत गरेको हो ।
तेल अभिभको एलएएल कम्पनीबाट ठेक्का फुत्काउन नयाँ मानक राखेर लुफ्थान्सालाई प्राविधिकका कतिपय बुँदामा फुलमार्क दिइएको छ ।
निगमका एक प्राविधिकका अनुसार यो इञ्जिनको मर्मत खर्च पहिलेको भन्दा दोब्बर बढी आउने देखिएको छ ।
लुफ्थान्साले निगम विरुद्ध दुई दुईवटा मुद्दा पनि सर्वाेच्च अदालतमा दायर गरेको छ । ती मुद्दा विचाराधीन रहेकै अवस्थामा निगमले भने सोही कम्पनीलाई ठेक्का दिन लागेको छ । निगमका शुभचिन्तकहरुका अनुसार हाल लुफ्थान्सा टेकको नेपाली एजेण्ट बि.के.श्रेष्ठ हुनुहुन्छ ।
उहाँ निगममा वाइडबडी जहाज ल्याउदा तात्कालिन कार्यकारी अध्यक्ष सुगतरत्न कंशाकारका मतियार पनि हुनुहुन्छ । निगमका वर्तमान कार्यकारी अध्यक्ष अधिकारीलाई कंशाकारले जानी दुश्मनको व्यवहार गर्नुहुन्थ्यो । कंशाकारको पहिलो कार्यकालमा तात्कालिन महाप्रबन्धक क्याप्टेन कुलबहादुर लिम्बूसंग निकट भएकोले उहाँले दिनु दुःख दिनुभएको थियो । तर सोझा युवराजले भने आफ्नै हातले आफू आर्थिक अनियमितता र सोझै भ्रष्टाचारमा अख्तियार जाने अवस्था सिर्जना हुँदा पनि बी.के.श्रेष्ठमार्फत सुगतको पाउमा निगमको जहाजका इञ्जिन मर्मतको तालाचाबी सुम्पिदिनुभएको छ ।
खै, यो घट्नाले निगममा कसलाई कहाँ पुर्याउछ ? भन्न नसकिने अवस्था छ । निगमभित्रको खेल चुनावपछिको सत्ता समिकरणभन्दा रोचक होला जस्तो छ ।


















