Prakash Adhikari December 14, 2022

पोखरा(कास्की), २८ मंसिर । फेसनको प्रतिष्ठित पुरस्कार “हल्ट प्राइज च्यालेन्ज २०२३” को लागि पोखरा विश्वविद्यालयमा कार्य समिति गठन गरिएको छ ।

विश्वविद्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारी अनुसार सुरजराज केशरी क्याम्पस निर्देशक रहेको सो समिति २० सदस्यीय रहेको छ । कार्य समितिले छिट्टै आगामी बर्षको लागि प्रतिस्पर्धा गर्न आवेदन दिएका टिमहरुलाई उद्यमशीलता र तालिमहरु दिने जानकारी दिएको छ ।

कार्य समितिले दिएको जानकारी अनुसार आगामी बर्ष २०२३ का लागि हुने प्रतियोगिताका लागि  विभिन्न विश्वविद्यालय र आंगिक क्याम्पस तथा कलेज गरी ३५ टिमले प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् ।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नविनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएको बताइन्छ ।

२०२३ को हल्ट प्राइज च्यालेन्ज “रिडिजाइनिङ्ग फेसन” रहेको छ ।

पोशाक (फेशन) उद्योगलाई विश्वको तेस्रो ठूलो उत्पादनमूलक उद्योग मानिन्छ । यसले विश्व अर्थतन्त्रलाई २.४ ट्रिलियन डलरको योगदान गर्दछ । हरेक वर्ष झण्डै १ खर्ब ५० अर्ब थान लुगाहरु उत्पादन हुने अनुमान गरिएको छ । यसले ३० करोड मानिसहरुलाई रोजगारी दिएको अनुमान गरिएको छ ।

यो प्रतियोगिताका सहभागीहरुले फेसनको क्षेत्रमा देखिएका समस्याहरुकको समाधान गर्ने र संयुक्त राष्ट्र संघले २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न राखेका क्षेत्रगत लक्ष्यसंग तादात्म्य रहने गरी आयोजकहरुले तय गरेको थिममा नवीनतम् विचारहरुसहितका कार्यक्रम पेश गर्नुपर्दछ ।

हल्ट प्राइजको यात्रा विद्यार्थीहरुको अन क्याम्पस कार्यक्रमबाट सुरु हुन्छ । क्याम्पसका प्रतिस्पर्धीहरुले विश्वविद्यालयभित्रै प्रतिस्पर्धा गर्दछन् । अन क्याम्पसको विजेताले क्षेत्रीय स्थान सुरक्षित गर्दछ । त्यो चरण पार गर्ने विजेता एक्सिलेरेटर चरणमा पुग्दछ । त्यहाँ उनीहरुलाई चार हप्ता प्रशिक्षित गरिन्छ । यहाँ प्रतियोगीहरुलाई आफ्ना व्यवसायजन्य विचारहरुलाई लगानीयोग्य उद्यममा रुपान्तरण गरिन्छ । विश्वभरबाट छानिएका ६ टिमहरु १० लाख डलरको यो पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तिनीहरुबाटै विश्वविख्यात निर्णायक मण्डलीले पेरिसमा विजेता चयन गर्ने छन् ।

यी विजेताहरुलाई अमेरिकामा आयोजित विशेष कार्यक्रममा पुरस्कार राशीसहित सम्मानपत्र दिइने छ । यो कार्यक्रममा अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टनको नाममा स्थापित दि क्लिन्टन ग्लोबल इनिसियटिभ र हल्ट इन्टरनेशनल बिजनेस स्कूलकाबीच साझेदारी भएको छ ।

 

 

Share Now

Leave a comment.