दोहा(कतार), २९ मंसिर । फ्रान्स लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार मध्यराति भएको सेमिफाइनल खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
अल बायट स्टेडियममा भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले पहिलो गोल गरेका थिए।
खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमा नै गोल गरेर आफ्नो देशको जितलाई सुनिश्चित बनाएका थिए।
Another Final awaits the @equipedefrance 🇫🇷#FIFAWorldCup | #Qatar2022
— FIFA World Cup (@FIFAWorldCup) December 14, 2022
अफ्रिकी टोली मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो।
फ्रान्स भने ६० वर्षपछि एउटै टोलीले लगातार दोस्रोपटक विश्वकपको उपाधि जितेको इतिहासमा नाम लेखाउने दाउमा छ।
फ्रान्स अब उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ।
यसअघि लगातार दुईपटक विश्वकपको फाइनलमा इटाली, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स र जर्मनीले पनि लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने कीर्तिमान राखिसकेका छन्।
इटाली र ब्राजिलले मात्र लगातार दुईपटक विश्वकपको उपाधि जित्ने कीर्तिमान कायम गरेका छन्।
फ्रान्स चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो। सन् १९९८ को विश्वकपको फाइनलमा पुग्दै उपाधि जितेको फ्रान्स सन् २००६ को विश्वकपको पनि फाइनलमा पुगेको थियो। त्यस्तै सन् २०१८ मा भएको विश्वकपमा पनि फ्रान्स फाइनलमा पुगेको थियो।
सातपटक विश्वकपको सेमिफाइनलमा फ्रान्सले केवल तीनपटक मात्र हारको सामना गरेको छ।
यसपटकको विश्वकपको समूह चरणमा अष्ट्रेलियालाई १ का विरुद्ध ४ गोलले हराएको फ्रान्सले दोस्रो खेलमा डेनमार्कलाई १ का विरुद्ध २ गोलले पराजित गरेको थियो।
समूह चरणको अन्तिम खेलमा १–० ले पछि परेको फ्रान्सले अन्तिम १६ को खेलमा पोल्याण्डलाई ३–१ ले हराएको थियो । फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डमाथि २–१ गोलअन्तरको जित हात पारेको थियो।
मोरक्कोको फाइनल सपना अधुरै
अफ्रिकी राष्ट्र मोरक्को यस बर्ष फुटबलमा नयाँ शक्ति राष्ट्रको रुपमा उदायो ।
विश्वकपमा पाँचौ पटक सहभागिता जनाइरहेको मोरक्कोले बलिया टोलीलाई हराउँदै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
तर बुधबार मध्यराति भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भएपछि मोरक्कोको पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने सपना अधुरो रह्यो।
मोरक्कोले अब तेस्रो स्थानका लागि क्रोएसियासँग शनिबार राति खेल्नेछ।
मोरक्कोले यो विश्वकपमा पहिलेको विश्वकप विजेता स्पेन र बलियो पोर्चुगललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । विश्वकप इतिहासमा मोरक्कोले चमत्कारिक प्रर्दशन गर्यो। पहिलो पटक सेमिफाइनल पुगेपछि मोरक्कोका प्रशिक्षक वालिड रिग्रागुईले अहिले नै उपाधि जितेको महसुस गरेको बताएका थिए।
समुह चरणमा क्रोएसियासँग गोलरहित बराबरी गर्दै विश्वकपको यात्रा सुरु गरेको फ्रान्सले दोस्रो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो। क्यानडालाई २–१ ले हराएको मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएको थियो। क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराउँदै पहिलो पटक सेमिफाइनल पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनलको प्रतिस्पर्धामा नपुगी बाहिरिएको हो।
मोरक्कोले पहिलो पटक सन् १९७० मा विश्वकपमा सहभागिता जनाएको थियो।
त्यसपछिका ३ विश्वकपमा छनोट हुन नसकेको मोरक्कोले १९८६ मा दोस्रो पटक विश्वकपमा सहभागी भयो। पहिलो पटक सहभागी हुँदा समुह चरणमै सिमित बनेको मोरक्कोले दोस्रो पटक भने नकआउट चरणसम्मको यात्रा तय गरेको थियो।
१९९० मा फेरि छनोट चरण पार गर्न नसकेको मोरक्कोले १९९४ र १९९८ मा समुह चरणमा मै सीमित बन्यो। त्यसपछिका २००२ देखि २०१४ सम्म छनोट हुन नसकेको मोरक्को २०१८ मा भने समुह चरणमै सिमित बनेको थियो।
विश्वकपमा आफुलाई बलियो टोलीको रुपमा स्थापित गर्न सर्घष गरिरहेको मोरक्कोले कतार विश्वकपमा भने चमत्कारिक प्रर्दशन गर्दै सेमिफाइनलसम्मको इतिहास बनाएको हो ।


















