Prakash Adhikari December 15, 2022

 

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन बुझाएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाउनुभएको हो।

मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएको हो।

निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन बुझाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभएको छ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने भएको छ।

साथै आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ। थपलियाका अनुसार पुस २ गते प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ।

आयोगबाट प्रतिवेदन बुझेपछि केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्नुहुनेछ।
प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएको हुनाले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बन्ने सम्भावना छ।

अहिलेको सत्ता गठबन्धनबाटै नयाँ सरकार बनाउन नेपाली कांग्रेसले पहल गरिरहेको छ भने नेकपा एमालेले पनि सरकार बनाउनका लागि आफ्नो तर्फबाट पहल गरिरहेको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ।

 

Share Now

Leave a comment.